अझै सुल्झिएन सीमा विवाद



धनगढी : कैलाली र कञ्चनपुरका स्थानीयले उपभोग गरिरहेको भूभागमा भारतीय अतिक्रमण नरोकिएपछि सीमा विवाद जटिल बनेको छ। नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले तीन वर्ष पहिलेदेखि ती जिल्लाको सीमा विवाद समाधान गर्न हराइरहेका सीमास्तम्भ निर्माण र भत्किएकाको मर्मत थाले पनि सो कार्यले पूर्णता पाउन सकेको छैन। कैलालीका भजनी, फूलबारीलगायत केही ठाउँमा नेपालीले उपभोग गर्दैै आएको जमिनमा भारतीय पक्षले अतिक्रमण गरेका छन्।

नेपाली भूभाग अतिक्रमणमा परी सीमा विवाद जटिल रहेको कञ्चनपुरमा संयुक्त सर्भे टोलीले काम नै थाल्न सकेको छैन। कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी हराएका तीन सय २९ सीमास्तम्भ अझै निर्माण हुन सकेका छैनन्।

नेपाल र भारत सरकारबीचको सहमतिअनुसार तीन वर्षयता सर्भे टोलीले काम गरिरहेको हो। अहिलेसम्म दुईवटा सर्भे टोलीले काम गरिसकेका छन् भने यो वर्ष नयाँ सर्भे टोली बनाउन बाँकी रहेको बताइएको छ।

पहिलोपटक प्रमुख नापी अधिकृत सुदर्शन धामी र गत वर्ष प्रमुख नापी अधिकृत जनकराज भट्टले संयुक्त टोलीमा नेपाली पक्षको नेतृत्व गरेका थिए। मंसिरदेखि जेठसम्म संयुक्त सर्भे टोलीले काम गर्ने गरेको धामीले बताएका छन्।


भूमि अतिक्रमणको विरोध जनताबाट

दुई देशका नक्सा, सीमा स्तम्भलगायतका आधारमा सर्भे टोलीले स्तम्भ हराएका स्थानमा सीमा निक्र्योल गरी नयाँ सीमास्तम्भ बनाउने गरेको छ। सर्भे टोलीमा रहेका नेपाल पक्षका कर्मचारीले भारतले अतिक्रमण गरेको भूभाग नेपालकै हो भनेर अडान राख्न नसक्दा समस्या आएको स्थानीय बताउँछन्।

कैलालीको फूलबारी र भजनीका स्थानीयले उपभोग गर्दैै आएको भूभाग भारतले अतिक्रमण गरेको र त्यो भूभाग भारतमै पर्नेगरी सीमास्तम्भ राख्न संयुक्त सर्भे टोली मन्जुर भएपछि स्थानीयले विरोध गर्दै आएका छन्। ‘हाम्रा बुवाबाजेका पालादेखि प्रयोग गर्दै आएको जमिन भारतले आफ्नो भनेर अतिक्रमण गरेको छ, सीमाविवाद समाधान गर्ने संयुक्त सर्भे टोलीले पनि भारतले अतिक्रमण गरेको सदर हुने गरी सीमास्तम्भ राख्न खोजेपछि हाम्रो जमिन भारतलाई लैजान दिनुहुँदैन भनेर विरोध गरेका हौं,’ धनगढी उपमहानगरपालिका–१४ फूलबारीका महेश गोलेले भने। फूलबारीस्थित सामुदायिक वनलाई भारतले आफ्नो दाबी गरेको छ।

सर्भे टोलीको नेतृत्व गरेका धामीले भने नेपाली भूभाग भारतमा पर्नेगरी कुनै पनि ठाउँमा सीमा निक्र्योल नभएको बताए। ‘मोहना नदीले धार बदल्दा, सीमास्तम्भ हराउँदा स्थानीयको बुझाइ फरक भएको हो,’ उनले भने, ‘भारततिरका जनताले कुनै ठाउँमा विरोध गरेनन्, नेपालका जनताले मात्र विवाद ल्याएर विरोध गरेको पाइयो।’

कैलालीको फूलबारी, भजनी, खक्रौला तथा कञ्चनपुरका पुनर्वास, बेलौरी, प्याराताल, ब्रह्मदेवलगायत कैयौं ठाउँमा वर्षौंदेखिको विवाद समाधान हुन सकेको छैन। यी ठाउँमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको स्थानीय बताउँछन्। लालपुर्जा भएको जमिनसमेत भारतले अतिक्रमण गरेको उनीहरू बताउँछन्।

संयुक्त टोलीले विवाद नरहेको ठाउँमा हराएका केही पिलर राख्ने र जीर्ण अवस्थामा रहेका केही पिलर मर्मतबाहेक विवाद देखिएका ठाउँमा काम गर्न सकेको छैन। कैलालीका केही ठाउँमा हराएका सीमास्तम्भ राखिए पनि बढी विवाद रहेकाले कञ्चनपुरमा कामै सुरु गर्न नसकेको गत वर्ष नेपाली टोलीको नेतृत्व गरेका भट्टले बताए।

कैलालीमा विवाद नरहेका ठाउँमा संयुक्त सर्भे टोलीले गत वर्ष ४९ वटा सीमा स्तम्भ राखेको उनको भनाइ छ। ‘धेरै ठाउँमा सीमा स्तम्भ हराएका छन्, विवादित ठाउँमा काम गर्न सकिएको छैन,’ उनले भने।

संयुक्त सर्भे टोलीलाई दुवै देशको नक्सा भिडाएर हराएका ठाउँमा नयाँ सीमास्तम्भ राख्ने, भएका स्तम्भलाई मर्मत र रङरोगन गर्ने कार्यादेश थियो। हराएका स्तम्भ राख्न नसके पनि मर्मतको काम भने सकिएको भट्टले बताए। कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी तीन सय ८० स्तम्भ हराएका पाइएको प्रमुख नापी अधिकृत भट्टले बताए।

कैलालीमा एक सय ३३ र कञ्चनपुरमा दुई सय ४७ स्तम्भ हराएका हुन्। यीमध्य सर्भे टोलीले विवाद नरहेका ठाउँमा आठवटा मुख्यसहित ४९ वटा नयाँ स्तम्भ राखेको छ भने तीन सय २९ स्तम्भ अझै छैनन्।

कञ्चनपुर पुनर्वास नगरपालिका–४ आनन्द बजारनजिक सीमा विवादकै कारण नेपाली भूमिमा बनाइएको कल्भर्ट भारतीय सुरक्षाकर्मीले भत्काउन थालेपछि विरोध गर्ने स्थानीय बासिन्दामाथि भारतीय एसएसबीले गोली हानेको थियो। गोली लागेर गोविन्द गौतमको ज्यान गएको थियो। कञ्चनपुरको सीमा क्षेत्रका बासिन्दा सीमा समस्याका कारण विकासका पूर्वाधारबाट समेत वञ्चित बनेका छन्।

पुनर्वास–६, ८ र ९ नम्बर वडामा सीमा विवाद रहेको नगर प्रमुख जीवन थापा बताउँछन्। उनका अनुसार बाटो, कल्भर्ट, काँडेतारलगायत कुनै विकासका पूर्वाधार भारत पक्षले बनाउन नदिँदा समस्या भएको छ। कञ्चनपुरमा भारत पक्षले पिलर गायब गरेर, पिलर सारेर नेपाली भूभाग अतिक्रमण गरेको छ।

आनन्द बजारमै रहेको २०० नम्बर पिलर हराएकाले भारतले नेपाली भूमि अतिक्रमण गरेको छ। २०१ नम्बर पिलर पनि सारेर नेपाली भूमिमा गाडेको स्थानीय बताउँछन्। यसैगरी पुनर्वास–९ बीचफाँटामा रहेको १९५ नम्बरको पिलर ढलेको छ भने १९६ नम्बर पिलर भारतीय पक्षले गायब पारेको छ। दुई लाख ५० हजार वर्गकिलोमिटरको जैविक विविधताले महत्वपूर्ण प्याराताललगायत वरपरको करिब दुई सय बिघा जमिन कब्जा गर्न पिलर गायब पारेको वडाध्यक्ष नारायणप्रसाद जैसीले बताए। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्