आजदेखि डा. गोविन्द केसी अनसन बस्ने



काठमाडौं: चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बस्दै आएका डा.गोविन्द केसी १६ औं पटक अनसन बस्ने भएका छन् । अनसनका लागि डा.केसी इलाम पुगेका छन् ।

 

आफ्नो माग पूरा गर्न आजसम्मको अल्टिमेटम दिएका केसी सत्याग्रहको तयारीका लागि इलाम पुगेका उनका सहयोगी अभिषेकराज सिंहले ट्विटमार्फत जानकारी दिएका छन् । केसीले बुधबारदेखि अनसन बस्ने तयारी गरेका छन् ।

 

केसीले सरकारसँग ३ बुँदे माग राखेका छन् । उनले १५ औं असनसनका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने पहिलो माग राखेका छन् । आफूसँग सरकारले गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने उनको माग छ ।

 

यस्तै उनले सातै प्रदेशमा मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना खोल्न समेत माग गरेका छन् ।

 

निर्मला पन्तको बलाकार बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गर्दै उनले प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउनुपर्ने केसीको माग छ ।

 

सरकारको निर्णय उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने उनको तेस्रो माग छ ।

प्रतिक्रिया दिनुहोस्