पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध



मुस्ताङ : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो ।

शुक्रबार राति खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका एक्साभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । ठूलो पहिरो खसेकाले सडक खुलाउन उपकरण परिचालन गरे पनि दिनभर लाग्ने शेरचनले बताउनुभयो । देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हँुदै बेनीतर्फ छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

सडक अवरुद्ध हुँदा स्थानीयवासी, मुुक्तिनाथ जाने र फर्कने तीर्थयात्री तथा पर्यटक प्रभावित भएका छन् । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको गुइठेभिर खण्ड जोखिमयुक्त मानिन्छ । यो ठाउँमा पटक–पटक पहिरो खस्ने गरेको छ । यसैगरी सडकमा हिउँ जमेपछि मुस्ताङको यातायात सेवा पनि प्रभावित भएको छ । जोमसोम हुँदै उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।

जोमसोमदेखि घाँसा र मुक्तिनाथ जोड्ने सडकमा भने हिउँ पन्छाएर सवारी सञ्चालन गरिएको छ । हिउँ खेल्न आउने पर्यटकले घरवास र होटल बुक गर्न थालेका ठिनी घरवासका अध्यक्ष जुमा थकालीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्