उत्तरी धादिङमा हिमपात, जनजीवन प्रभावित



धादिङ : उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत तिप्लिङ, लापा, सेर्तुङ र खनियाबास गाउँपालिकाअन्तर्गत झर्लाङमा शुक्रबारदेखि हिमपात भएको छ ।

हिमपातका कारण उत्तरी धादिङको लब्दुङ, लिङ्जो, ठूलो गाउँ, नेवेर, लापा खादीङ, था माथिल्लो भागमा पर्ने बस्तीमा भारी हिमपात भएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताउनुभयो । हिमपात शुरु भएपछि शुक्रबार विद्यार्थी भागाभाग गरेर घरतर्फ गएका थिए ।

गाउँ हिउँले ढाकिएपछि जनजीवन कष्टकर भएकाले मानिस घरभित्रै बसिरहेका छन् भने गाईबस्तु चिसोले कठ्याङ्ग्रिएका छन् । हिमपात शुरु भएपछि विद्यालय बन्द भएका छन् । चिसोले गर्दा विद्यालय खोल्न नसक्ने अवस्था आएको छ । उत्तरमा हिमपात भएपछि हिउँ खेल्न जाने आन्तरिक पर्यटक रसुवाको बाटो हुँदै उक्त क्षेत्रर्फ जान थालेका छन् । यस्तै सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र शेर्माथानमा हिमपात शुरु भएसँगै जनजीवन प्रभावित भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेमार्थान, ता¥र्के घ्याङ, ठाडेपार्टी, मेलम्ची घ्याङलगाएत उच्च भूभागमा शुक्रबारदेखि हिमपात शुरु भएको हो ।

त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि हिउँ परेको छ । भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागी डाँडा आसपासमा हिउँ परेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

हिमपात शुरु भएपछि सिन्धुपाल्चोकमा चिसो बढेको छ । शुक्रबार बिहानैदेखि हल्का वर्षासहित हिमपात शुरु भएसँगै जिल्लाको उच्च भूभाग तथा शेमार्थान, मेलम्ची घ्याङ, भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागी डाँडालगायतका स्थान अहिले ढाकिएका छन् । हिउँ परेसँगै पर्यटकको पनि घुइँचो लागेको छ । चिसोका कारण वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी महिला, बालबालिका बढी प्रभावित भएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्