नेपाल फर्कदै मार्क्स…



काठमाडौ : ‘ मार्क्स फर्किए’ मा उनले के भन्ने होलान, हालको उत्कर्ष विश्व पुँजीवाद र दुनियाँका मार्क्सवादी देखेर ? वास्तवमा धर्म र पुँजीवादबारे उनको धारणा के थियो ? उनको १४० वर्षअघिको कठीनपूर्ण जीवन, उनका परिवारजन र उनको संघर्षबारे के बताउँलान ? यस्ता जिज्ञासा शान्त गर्न एक अमेरिकी इतिहासकार तथा वामचिन्तक हवार्ड जीनद्धारा लिखित नाटक ‘मार्क्स इनहोसो’ को नेपाली संस्करण नेपालमा प्रदर्शन हुँदैछ ।

पुँजीवादी विश्वले मार्क्सलाई धेरैपटक मार्यो र इतिहासको अन्त्य भएको घोषणा गर्यो । तर विश्वका हरेक संकटमा मार्क्स आइरहन्छन् र पुँजीवादका बारेमा आफ्ना उद्घोष हरदम सत्य सावित गरिरहन्छन् । यस पटक पनि आफ्नो उद्घोष सत्य सावित गर्न ‘मार्क्स फर्किए’ ।

हुन त मार्क्स आफूले व्यतित गरेको लण्डनको सोहो बस्तिमा फर्कन चाहन्थे तर उनका पथप्रदर्शकको भाषिक अज्ञानताले गर्दा नेपालको एक नाटक ‘सो’ भईरहेको हलमा आईपुग्छन् । नाटक ‘सो’ हलमा मार्क्स देखेर त्यहाँ नाटक निर्देशन गरिरहेका निर्देशक आश्चर्यमा पर्दै सोध्छन्– ‘तपाई मार्क्स ! तपाई मरिसक्नुभो होइन र ? यही प्रश्नबाट ‘मार्क्स फर्किए’ को नाटक शुरु हुन्छ । निर्देशक प्रश्नमा मार्क्स भन्छन्–अँ म मरेकै हुँ तर म जिउँदै पनि छु । यो तपाईहरुका लागि द्वन्दवाद हो ।’

नाटकका दृश्यहरु लण्डनको सोहो बस्तिमा रहेको मार्क्सको निवास वरपरका छन्,जहाँ मुलुकबाट निकाला गरिएका माक्र्स बेल्जियम र फ्रान्सबाट पनि खेदिएकापछि उनकी पत्नि जेनी र उनका दुई छोरीहरु सहित बस्न आईपुगेका थिए, जहाँ जेनीले अरु ४ जना बच्चा जन्माईन,ती नानीहरुको हेरचाह गरिनर र तिनीहरुलाई स्नेहले हुकाईन । तर गरिबी र अभावका कारण एकपछि अर्को गर्दै सन्तान गुमाईन । यस्तो परिवेशमा मार्क्स र उनका परिवारले बिताएको जीवन तथा त्यहाँ आउने जाने केही मुख्य पात्रहरुसँग गरिएको क्रिया प्रतिक्रिया र मार्क्सको मृत्युपछि उनीलाई लागेको आरोपहरुको स्पष्टीकरण नै यस नाटकको विषयवस्तु हो ।

यो नाटकमा मार्क्सका अनन्य मित्र तथा मार्क्सवादका अर्का प्रणेता एङ्गेल्स एक प्रसंगमा मात्र देखिन्छन् किनकी उनी म्यान्चेस्टर शहरमा बस्दथे जब कि यो नाटक सोहो बस्ति वरपर मात्र केन्द्रित छ ।

कार्ल मार्क्सले १ सय चालिस बर्ष अघि बिताएको जीवनको आधारमा नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मार्क्स फर्किए’ नाटक मञ्चन हुने भएको छ । कार्ल मार्क्स जन्म द्विशत वार्षिकी समारोह समिति र नेपाल अध्ययन केन्द्रको आयोजनामा पुस १ देखि तीन गतेसम्म यो नाटक प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रदर्शन हुँदैछ ।

मञ्चमा सुनील पोखरेल, निशा शर्मा, कमलमणी नेपाल, प्रवीण खतिवडा, सरस्वती चौधरी, रामभजन कामत, राम न्यौपाने, अन्जु देउजा, सुरज तमु, सुमित तामाङ, मौसम खड्का, सविन भट्टराई, उत्तमराज पाण्डे लगायतको भूमिका रहने छ । अमेरिकी लेखक तथा इतिहासकार हवार्ड जीनले लेखेको यो नाटक दामोदर उपाध्यायले अनुवाद गरेका हुन् । नाटकको निर्देशन तथा परिकल्पना सुनील पोखरेल र प्रवीण खतिवडाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्