अमेरिकामा बजेट अभावमा बन्द कार्यालय खुल्ने कहिले ?



अमेरिका: अमेरिकाका संघीय कार्यालय बजेट अभावमा आंशिक बन्द भएको डेढ हप्ता भइसक्यो । अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्रेट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा रहेको मेक्सिकोको सीमानामा पर्खाल लगाउन लागि बजेटको व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनःअगाडि सारेको छ ।

 

राष्ट्रपति ट्रम्पका लागि ‘प्रतिष्ठाको विषय’ बनेको सीमा पर्खालको बजेट पारित नभए के होला ? राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘बरु सरकारी कार्यालय बन्द हुन्, पर्खाल निर्माणका लागि बजेट छुट्याउनुको विकल्प छैन । राष्ट्रिय सुरक्षा नै मेरो पहिलो प्राथमिकता हो ।’

 

अमेरिकी कंग्रेसका दुबै सदनमा केही वर्षदेखि बहुमतमा रहेको रिपब्लिकन पार्टीको प्रभाव खस्केको छ । खासगरी, अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा गत नोभेम्बरमा भएको निर्वाचनमा रिपब्लिकन पार्टीले बहुमत गुमाएपछि राष्ट्रपति ट्रम्पका कैयौं महत्वाकाँक्षी योजना र कार्यक्रम ओझेलमा पर्ने निश्चित भइसकेको छ ।

 

विपक्षीको विश्वास आर्जन नगर्दासम्म ट्रम्पका आगामी दिन फलामका चिउरा चपाउनु सरह हुनेछ । हाल बन्द अवस्थामा रहेका सरकारी कार्यालयको बजेट व्यवस्थाका लागि डेमोक्रेटले दुईवटा विधेयक अगाडि सारेका छन् । यो बजेट पारित भएमा हजारौं संघीय कर्मचारी काममा फर्कन पाउनेछन् । कंग्रेसको बहुमतसहितको नयाँ सत्र प्रारम्भ हुनासाथ सो बजेट पारित गर्ने योजना डेमोक्रेटको रहेको छ ।

 

डेमोक्रेट्सले हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत हासिल गरेयता पहिलो कार्यसूचीका रुपमा बजेट विधेयकको अनुमोदन रहेको छ । रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटले बजेट विधेयकलाई पारित गर्ने वा नगर्ने भन्ने बारेमा अन्यौल कायमै छ ।

 

खासगरी, रिपब्लिकन पार्टीभित्रै बजेटका बारेजमा मतैक्य हुन सकेको छैन । सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलका प्रवक्ता डोनाल्ड स्टेवार्टले राष्ट्रपति ट्रम्पको समर्थन बेगर सिनेट रिपब्लिकनले कुनै कार्यबाही नगर्ने बताए । स्टेवार्डले भने, ‘कुरा प्रस्टै छ, राष्ट्रपतिले हस्ताक्षर नगर्ने किसिमको कुनै पनि कुरा सिनेटले राष्ट्रपतिकहाँ पठाउने छैन ।’

 

सांकेतिक नै भएपनि तल्लो सदनले विधेयक पारित गरेमा त्यसले राष्ट्रपतिमाथि थप दबाब सिर्जना गर्नेछ । यस्तै, ट्रम्प प्रशासनका अधिकारीले गतिरोध अन्त्यका लागि राष्ट्रपतिले कुनै हतार नगरेको बताएका छन् । नाम बताउन नचाहने एक अधिकारीको भनाइमा राष्ट्रपति ट्रम्पको विश्वासमा सीमा पर्खालका बारेमा जनमत आफ्नो पक्षमा रहेको छ ।

 

ट्रम्पले सप्ताहान्तमा एकपछि अर्को ट्वीटमा डेमोक्र्याट्स वार्तामा आउनुको विकल्प नरहेको बताएका छन् । सोमबार ट्रम्पले गरेको ट्वीटमा भनिएको छ, ‘सिमेन्ट र गिटीको पर्खाल बनाउनुको विकल्प छैन । मैले पर्खाल बनाउने प्रस्ताव त्यागेको छैन । सीमा सुरक्षासँग सम्बन्धित केही विज्ञले वारपार देखिने किसिमको पर्खाल उपयुक्त हुने प्रस्ताव गरेपनि मेरो धारणा बलियो सिमेन्टको पर्खाल नै हो ।’

 

राष्ट्रपति ट्रम्पले फक्स च्यानललाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘म डेमोक्रेट्ससँग मध्यस्थता गर्न तयार, इच्छुक र सक्षम छु । तर मैले पर्खाल नै चाहिन्छ भन्नेमा जोड दिइआएको छु । हामीसँग बलियो सीमा सुरक्षा चाहिन्छ र सीमा सुरक्षामा पर्खालको ठूलो महत्व छ ।’ बजेट पारित नहुँदा अमेरिकी संघीय कार्यालय डिसेम्बर २२ देखि आंशिक बन्द भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्