नयाँ वर्षमा अमेरिकालाई उत्तर कोरियाको कडा चेतावनी



प्योङयाङ: उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश एक वर्षदेखि सुरु भएको निशस्त्रीकरणको मार्गबाट फर्किनसक्ने चेतावनी दिएका छन् । उत्तर कोरिया परमाणु हतियार नष्ट गर्न प्रतिबद्ध रहेको तर आफ्नो देशमाथि अमेरिकाले लगाएको प्रतिबन्ध कायम राखेको खण्डमा आफ्नो बाटो परिवर्तन हुनसक्ने चेतावनी दिएका छन् ।

 

किम जोङ्ग उनले नयाँ वर्ष २०१९ को अवसरमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । गत वर्ष नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै उनले आफ्नो देश दक्षिण कोरियासँग सम्बन्ध सुधार गरेर एकसाथ अघि बढ्न तयार रहेको बताएका थिए । त्यसपछि दक्षिण कोरिया र अमेरिका दुवै देशसँग विस्तारै सम्बन्धमा सुधार आएको थियो । दुईदेशसँगको सम्बन्ध सुधारमा उनको कूटनीतिक कदम महत्वपूर्ण रहेको बताइदै आएको छ ।

 

किमले सम्बन्ध सुधार गर्दै सन् २०१८ को जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बैठक गर्दै परमाणु हतियार नष्ट गर्ने दिशामा अघि बढ्ने सहमति गरेका थिए । यद्यपि अहिलेसम्म यो बैठकको सहमति कार्यान्वयनमा आएका छैन ।

 

सन् २०१७ मा उत्तर कोरियाले परमाणु क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिका र उत्तर कोरियाबीच तनाव बढेको थियो । उत्तर कोरियाले आफ्नो परमाणु हतियार अमेरिकासम्म मार हान्न सक्षम रहेको बताएको थियो । उत्तर कोरियाको यो धम्कीपछि दुई देशबीच युद्धको आशंका बढेको थियो ।

 

यद्यपि पछिल्लो एक वर्षदेखि उत्तर कोरियाले सुरु गरेको कूटनीतिक प्रयासका कारण कोरियाली प्रायद्वीप शान्त रहँदै आएको छ । मंगलबार बिहान नयाँ वर्षको अवसरमा देशको सरकारी समाचार च्यानलमार्फत गरेको सम्बोधनमा नेता किमले भने, ‘यदि अमेरिकाले संसारका अघि गरेको बाचा पूरा गर्दैन र हाम्रो देशमाथि दबाब दिने र प्रतिबन्ध लगाउँछ भने हामीसँग आफ्नो हित र सम्प्रभुता सुरक्षित राख्ने नयाँ बाटो रोज्नुको विकल्प छैन ।’

 

उनले यस विषयमा वार्ताका लागि ट्रम्पसँग जुनसुकै बेला र जहाँसुकै पनि भेट्न तयार रहेको बताएका छन् । उत्तर कोरियाको परमाणु र ब्यालिस्टिक मिसाइल हतियार कार्यक्रमका कारण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले पनि केही प्रतिबन्ध लगाएको छ ।

 

गत वर्ष आफ्नो सम्बोधनका क्रममा उनले दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकमा सहभागिता जनाउने र यसमार्फत सम्बन्ध सुधार गर्ने घोषणा समेत गरेका थिए । यसपछि उनले जुनमा किमले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनसँग अन्तरकोरियाली बैठकमा भाग लिए ।

 

सीमा सहर पानमुनजोममा भएको सो बैठकपछि दुई देशबीच सम्बन्ध थप सुदृढ भएको थियो । दुई नेताबीच दुई पटक बैठक भयो भने दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण पनि गरे । उत्तर कोरियाली नेता किमले गत वर्षभित्र नै दक्षिण कोरियाको भ्रमण गर्ने बताए पनि भ्रमण हालसम्म गरेका छैनन् । किमले आफूले दक्षिणको भ्रमण गर्ने बाचा पूरा नभएको भन्दै २०१९ मा भ्रमण गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्