१० वर्षमा चितवन कारागारभित्र ४१ को मृत्यु, अधिकांश कैदीको मृत्यु क्यान्सरले



चितवन : भरतपुर कारागारमा रहेका कैदीबन्दीको मृत्यु हुने क्रम बढेको छ । पछिल्लो समयमा जिल्ला कारागार प्रशासनका अनुसार दस वर्षमा ४१ जना कैदीको मृत्यु भएको मध्ये २९ जनाको क्यान्सारबाट मृत्यु भएको कारागार प्रमुख कमल काफ्ले जनकारी दिए ।

उच्च रक्तचापले मृत्यु हुनेको संख्या १० र २ जना अरु कारणले मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । मृतकमध्ये पाँच जना महिला रहेका छन् । जसमा दुइ जना विदेशी छन् । कारागारमा हाल ६ जना कैदी क्यान्सर रोगबाट पीडित भएको कारागार प्रमुख काफ्लेले बताए । 

क्यान्सर पीडित कैदीलाई कारागारभित्र भिन्नै राखेर उपचार तथा  हेरचाह गर्दै आएको काफ्लेले बताए । तर, विरामीको आवश्यकता अनुसार खानपानको सन्तुलन मिलाउन नसकिएको कारागारका सुचना अधिकारी रामबाबु श्रेष्ठले बताए । 

गत वर्ष साढे तीस लाख रुपैयाँ कैदीबन्दीको औषधि उपचारमा खर्च भएको कारागारका सुचना अधिकारी श्रेष्ठले बताए । ‘क्यान्सर भएका विरामीलाई केमो चढाउदा एकैै पटक ५० हजारसम्म खर्च हुन्छ,’ उनले भने । कारागारबाट आएका विरामी भन्ने बित्तिकै अस्पतालमा फरक व्यवहार गर्ने गरेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्