स्तब्ध पार्ने धनुषा बम काण्डको यस्तो छ नालीवेली



जनकपुर : हिजो शुक्रबार मध्यराती भएको बम काण्डका दोषी नजिक प्रहरी पुगेको छ । हिजो भएको आततायी बम काण्डमा प्रहरी निरीक्षक अमिर दाहाल सहित राजेश र उनका छोरा आनन्द साहको मृत्यु भएको थियो ।

घटना घटेदेखि नै प्रहरीले घटनालाई सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको छ । बमकाण्डमा प्रहरी जवान रिजन महतो सहित ४ जना घाईते भएका छन् । उनीहरुको धरान स्थित विपी मेमोरियल अस्पतालमा उपचार भईरहेको छ ।

मृतक साह पेशाले औषधि व्यवसायी रहेका थिए । उनले औषधि व्यवसायको अलावा चर्को ब्याजमा ऋण दिने गरेको खुल्न आएको छ । उनले रकम लगानी गरेका व्यक्ति पछि विप्लव समूहमा छिरेर उनीहरुको उक्साहटमा उनलाई तर्साउनका लागि बम राखेको अनुमान स्थानीयले गरेका छन् । औषधि पलस संचालक राजेशले कसैकसैलाई रकम लगानी गरेको चर्चा पनि छ ।

स्थानीयहरुले राजेशले लगानी गरेका व्यक्तिहरु विप्लव समूहमा लागेका र कसैले विप्लव समूहका नेताहरुलाई उजुरी गरेर तर्साउन यसो गरेको हुन सक्ने आंकलन पनि गरेका छन् । तर अनुसन्धानको क्रममा उक्त शक्तिशाली बम साहलाई हत्या गर्ने उदेश्यका साथ राखिएका हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर शक्तिशाली विस्फोट हुँदा ३ जनाको ज्यान गईसेको छ । घटनापछि प्रहरीले पन आफ्नो अनुसन्धानलाई त्यही केन्द्रित गरेर गरिरहेको छ । बम राखेको विषयमा फोनमा जानकारी दिएको कुरा पनि खुलेको छ ।

राजेशको घरमा प्रेसरकुकर बम झुण्ड्याएपछि झुण्डाउनेमध्येकै एकले फोन गरेर राजेशलाई शक्तिशाली बम राखेको सूचना दिएको जानकारी प्रहरीले पाएपछि अनुसन्धानको सुई त्यसैतर्फ घुमाईएको हो ।

यता क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार राजेशले कसैलाई रुपैयाँ पैसा लगानी गरेको हुन सक्ने बताउँदै पैसा लिएका मानिसहरुको संलग्नतामा उक्त बम झुण्ड्याइएको हुनसक्ने बताउँछन् । राजेश र मेयरको घर ५० मिटरको दुरीमा रहेको छ ।

यसरी भएको थियो घटना


शुक्रबार रातको १२ बजेको थियो । राजेश साहको श्रीमति शौचका लागि के उठेका थिए । उनले आफ्नो घरको ढोकामा केही बस्तु झुण्डिएको देखे । यसरी संकास्पद बस्तु देखेपछि उनले आफ्नो श्रीमानलाई उठाए । श्रीमान राजेश उठेर सोही ढोका खोलेर नयाँ घरमा सुतेका छोरा बुहारीलाई उठाए र प्रहरीलाई खबर गरे ।

शंकास्पद बस्तु भेटिएको खबर पाउनासाथ इन्स्पेक्टर अमिर दाहालको नेतृत्वमा प्रहरी टोली घटना स्थल खटियो । झोलामा राखिएको प्रेसर कुकर देखेपनि प्रहरी निरीक्षक दाहालले तर्साउन मात्र राखेको हुनसक्ने अनुमान गरेका कारण हातले छुन पुगेका थिए ।

गेटमा झुन्ड्यिाएको झोला बम हो वा होइन भनि एकिन गर्नका लागि इन्स्पेक्टर दाहालले छोएर के हेर्न खोजेका थिए त्यही समय विस्फोट भएको घटनास्थल पुगेका प्रत्यक्षदर्शी प्रहरीले बताए । प्रहरीलाई खबर गरेर प्रहरीको टोलीसँगै साहका परिवार पनि घर फर्केका थिए त्यसैकारण उनको परिवारमा ठूलो क्षती हुन पुगेको छ । घटनास्थलमा रहेका प्रहरी र स्थानीय बासिन्दाले असावधानीका कारण मानवीय क्षति भएको बताएका छन् ।

उनका अनुसार विस्फोटमा परी अगाडि रहेका राजेश साह, उनका छोरा आनन्द साह र इन्स्पेक्टर अमिरकुमार दाहाल गम्भीर घइते भए । उनीहरुभन्दा केही पछि रहेका प्रहरी जवान रिजनाथ महतो, साहका अर्का छोरा प्रकाश, छोरी अञ्जली र बुबा भिखारी साह पनि गम्भीर घाइते भए ।

बम विस्ष्फोटमा परी घाईतेलाई उपचारको लागि प्रादेशिक अस्पताल पठाइएकोमा राजेश र आनन्दको पहिल्यै मृत्यु भइसकेको र उपचारको क्रममा इन्स्पेक्टर दाहालको शनिबार बिहान ६ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक साह औषधी व्यवसायी रहेको र उनको विभिन्न ठाउँमा लगानी भएको बताईन्छ । उनले धेरै ब्याज लिदै ऋण दिने गरेका थिए । जसका कारण उनको ज्यान नै गएको हुनसक्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु अनुमान गर्छन । हत्याको योजना मुताविक नै यो घटना भएको हुनुपर्छ भन्ने अनुसन्धारत प्रहरीको अनुमान रहेको छ ।

यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यता स्थानीयहरुको पनि कसैले उनीहरुलाई हत्या गर्नकै लागि राखिएको बम बिस्फोट भएको हुन सक्ने आशंका छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान तिव्र बनाएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

विस्फोटका कारण पाँच मिटर वरिपरिको पर्खाल चर्किएको छ । प्रेसर कुकरभित्रका छर्राहरूले घरका भित्तामा गोली लागेको जस्तो दाग बनेको छ । प्रहरीले बम काण्डमा संलग्न रहेको आशंकामा विप्लव समूहका प्रदेश संयोजक सितादेवी महरा सहित केन्द्रीय सदस्य ललिता महरा र रामशोभित गाहालाई नियन्त्रणमा लिएको छ । उनीहरुको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्