नर्सको व्यवहार : किष्टमा चोट वीरमा मलम



काठमाडौं : झट्ट हेर्दा २३/२४ वर्र्षकी किशोरी, सेती, अग्ली, पर्पल कलरको कुर्ता सुरुवाल (ड्रेस) किष्ट हस्पिटलको इमेरजेन्सी वार्डको बेडमा विरामीसँग कुरा गर्दै थिइन् । मलाई डक्टर नर्स एकदमै मन पर्ने त्यसैले पनि होला धेरै कुरा सोच्न थाले । आहाँ कति राम्री देखिएको, बोली व्यवहार त झन कति राम्रो होला ? नर्स भनेको त यस्तो पो हुनु पर्छ भन्दै मनमनै कुरा खेलाउदैँ थिए ।

अरु नर्स, डक्टरहरुले त्यो बेडमा जानुस् भन्दै देखाएपछि पो म झसंग भए । त्यसपछि उनीहरुले भनेअनुसार बेडमा गएर पल्टिए । सबै कुरा सोधपुछ भएपछि बेड भर्ना गर्नुपर्छ भने तर मैले मानिन । म भर्ना भएर अस्पताल बसे भने, कसले कुर्छ ? एक्लै अस्पताल बस्न सम्भव थिएन । काठमाडौं जस्तो ठाउँमा कोठा लिएर बसेको म । आफन्त कोहि थिएनन् ।

त्यस दिन पनि पहिला काम गर्ने अफिसको एक जना केटा साथीलाई भनेर गएको थिए । अस्पतालमा बस्न सक्ने अवस्था थिएन । त्यसैले बरु पैसा बढि तिर्छु जति सक्दो छिटो घर जाने भने । त्यहीअनुसार तत्काल नसाबाट औषधि दिने र अलि ठीक भए बेलुका सम्ममा डिस्चार्ज गर्ने सहमति भयो । त्यपछि मलाई इनजेक्सन लगाइयो । तिनै राम्र्री नर्स आएर इनजेक्सन हानिन् ।

त्यसपछि ब्लड चेक गर्न ब्लड निकालीन र पिसाब चेकको लागि पिसाब ल्याउन भनिन् । म सानो बट्टा बोकेर ट्वाइलेट गए । मलाई हिंड्न गाह्रो भैरहेको थियो । साथीलाई समाएर ट्वाइलेटसम्म गए, तर त्यहाँ पनि लाइन बस्नु पर्ने । भित्तामा अडेस लागेर बसे, बल्ल पालो आयो । पिसाबको बट्टा हातमा बोकेर साथीलाई समाउँदै क्याबिनसम्म आए । त्यही राम्री नर्स आइन् र बट्टाको बिर्को खोल्न लगाइन् । म उभिन पनि नसक्ने, ढल्ने अवस्थामा थिए मलाई झन गाह्रो भैरहेको थियो ।

तर आफुलाई कन्ट्रोल गरेर क्याबिनको टेबलमा समाएर उभिरहेको थिए । कसैले बस्ने टेबल दिए पनि हुन्थ्यो अथवा बेडमा पुगेर ढल्किन पाए पनि हुन्थ्यो भन्ने लागेको थियो । तर भने जस्तो कहाँ हुन्छ र । भनु भने ओठ सुन्निएर आवाज बुझिदैन थियो । नर्सहरु बस्ने क्याविनको टेबल समाएर जबजस्ती उभिरहेको थिए ।

इनजेक्सन दिनेबित्तिकै मलाई समस्या हुन्छ । चट्याङ लागेदेखि मेरो सरिरमा सुईं लगाउने बित्तिकै हात र खुट्टा कक्रक्क भएर नचल्ने हुन्छ त्यो कुरा म र मेरो परिवार बाहेक अरुलाई थाहा छैन । अरु हस्पिटमा त पिसाब बट्टामा ल्याएर दिएपछि हुन्थ्यो । त्योभन्दा अघि धेरै अस्पताल धाएको थिए । तर त्यहाँ त बिर्को आफै खोल्नु भने । कुनै अस्पतालमा यस्तो भनेको थाह थिएन मलाई । ठीकै छ भनेर खोलिदिए ।

ती नर्सले पिसाब निकालिन् र भनिन् यो बोत्तल त्यो डब्बामा राख्नु । मेरो आँखाले केही नदेख्ने भैसकेको थियो । बल्लतल्ल मैले त्यो पिसाबको बोत्तलको बिर्को लगाए जस्तो लाग्छ तर मलाई राम्रोसँग याद छैन । मैले थोरै निहुरिए र त्यो पिसाबको बोत्तल डब्बामा खसाले । बिर्को राम्रोसँग लागेको थिएन होला त्यसैले थोरै रहेको पिसाब डब्बामा पोखिए छ मलाई त त्यो पनि थाह छैन । ती राम्री नर्सले झर्केर बोलेपछि बल्ल थाह भयो । १.०० बजे रिपोर्ट आउँछ भनेर इमेर्जेन्सीमा टिकट काटेको थिए । उनले भनिन्, तिम्रो रिपोर्ट ३ घण्टा पछि आउँछ । अस्पतालमा आएर गर्ने व्यवहार यही हो ? राम्रोसँग बिर्को लगाएर राख् भनेको होइन ?

गाली पनि लगभग ५ मिनेट जति गरिन् होला तर मलाई ३÷४ वाक्य भनेको बाहेक अरु थाहा नै छैन । गाली गरेको सुनेर कति मान्छे भेला भए अरु के भनिन् थाहै भएन । जसोतसो उभिरहेकै थिए । उनको गालीले झन् हातखुट्टा कक्राककुक्रुक हुन थाल्यो, आखाँबाट आसुँ रोकिएन । त्यसपछि बेड र भित्ता समाउँदै म सुतेको बेडसम्म पुगे ।

कसरी पुगे त्यो पनि राम्रोसँग थाह भएन । त्यति धेरै समयसम्म नझरेको आसुँ बरर झर्न थाल्यो । सुरुमा अस्पताल आउँदाभन्दा झन् बिरामी भए । हातखुट्टा चल्न छोड्यो । साथीले हातखुट्टा पूरै माडिदिए छ । त्यसपछि तत्काल इसीजी गरियो । अर्कै एउटा नर्स र साथीले के के भनेर सम्झाइरहेका थिए, त्यति धेरै थाह छैन । तर आफुले आफुलाई धेरै सम्झाए ।

त्यो नर्सको त्यस्तो व्यवहार देखेर त बरु मर्न आँट आयो, तर त्यो अस्पताल बस्ने आँट आएन । जसरी भए पनि जानु छ भनेर आफुले आफुलाई सम्झाए । आदि घण्टा जति निदाएछु । बल्ल अलि हातखुट्टा ठीक भएछ । त्यसपछि फेरि साथीले भन्छ– पिसाब जाँचका लागि पुगेन अरे फेरि दिनु पर्छ । त्यसपछि झन् रिस उठ्यो । जाँचका लागि कति चाहिन्छ भनेर थाह नहुने कस्तो नर्स हो ? एक त बिरामीसँग गर्ने बोली व्यवहार त्यस्तै ।

फेरि पिसाब जाँचका लागि दिए । एक सेकेण्ड पनि त्यो अस्पतालमा बस्न मन थिएन । सुनिएको अलि ठीक भएछ । त्यसपछि रिक्स लिएर बेलुका नै डिस्चार्ज गरेर घर आए । अस्पतालको बसाइभन्दा रुम आएपछि धेरै ठीक भएको महशुस भयो । गल्ती मेरो पनि थियो नै म स्वीकार पनि गर्छु, तर मैले जानिबुझी त्यसो गरेको पनि थिइन । मानिस हो, गल्ति सबैबाट हुन्छ ।

सायद माफिको लायक त थिए जस्तो लाग्छ । मेरो मुख नसुन्निएको र बोल्न सक्ने भए त म पनि केही भन्थे होला तर त्यो अवस्थामा थिइन । त्यो अस्पताल जानु मेरो रहर पनि थिएन । बाध्यता थियो । न भए जुनसुकै विरामी भएपनि त्यो अस्पताल जादिन थिए होला ।

के बाध्यता थियो भनेर म तपाईहरुलाई भन्छु । ४ जना साथि मिलेर घुम्न जाने प्लान बनाएका थियौं । बिहान ८.०० बजे प्रदर्शनी मार्गमा सबै साथिहरु भट्ने भनेका थियौं । त्यहीअनुसार साढे साततिर उठे । फ्रेश भए । त्यसपछि मेकअप गर्न लागेको थिए । ओठ परररर् पोल्यो । मन्जन्ले होला भनेर पुछे, तर सुन्निन थाल्यो । त्यतिकै जान लाज लाग्यो र फेरि सुते १ घण्टा पछि अझ सुन्निएछ । त्यसपछि मास्क लगाए र साथी भेट्न गए ।

तर सुन्निन कम नभएपछि घुम्न जाने योजना क्यानसिल ग¥यौं । रत्नपार्कमा गएर गफ गरेर बस्ने भयौं । तर त्यहाँ गएर बसिसकेपछि केही खान पनि नहुने गरी सुन्नियो । २ जना साथीलाई त्यही पार्कमा छोडेर एउटा साथीलाई लिएर वीर अस्पताल गयौं । त्यहाँ नजिक अरु अस्पताल थिएन । त्यहाँ गएर कुरा बुझ्दा टिकट् काटेर लाइन बसेर उपचार गर्न सम्भव थिएन किनकि त्यो अस्पतालमा विरामी कति आउँछन् भन्ने कुरा सबैलाई थाहा छ । छालासम्बन्धी नै देखाउनु पर्ने भएकाले अरु अस्पताल नजिक थिएन ।

इमर्जेन्सीमा उपचार गर्न मिल्दैन भनेपछि के गर्ने हामी दोधारमा प¥यौं । इमर्जेन्सी टिकट काउन्टरमा गएर सबै समस्या भनेपछि उहाँले हाम्रो समस्या बुझ्नु भयो र सल्लाह दिनु भयो । त्यहीअनुसार डक्टरलाई भेट्यौं । उहाँहरुले त्यसरी उपचार गर्न मिल्दैन भन्दै हुनुहुन्थ्यो । हाम्रो समस्या बताएपछि उपचार गर्दिन राजी हुनु भयो ।

त्यसपछि २÷३ खालको औषधि लेख्दिनु भयो र इनजेक्सन दिनु पर्ने भयो । सुईं लगाउनु पर्ने भन्ने बित्तिकै थर्र काप्न थाले तर नलगाई नहुने थियो । त्यसपछि औषधि लिएर फेरि त्यही अस्पतालमा इन्जेक्सन लगाउन आयौं । एक जना नर्सले औषधि हेर्नु भयो । तर डक्टरले भनेभन्दा अर्को कम्पनीको महंगो खालको औषधि हामीलाई दिएको रहेछ औषधि पसलेले । उहाँको बोली व्यवहारले गर्दा इन्जेक्सन लगाउ्रँदा पनि डर लागेन ।

उहाँले मलाई गर्नु भएको व्यवहारले सरकारी अस्पताललाई हेर्ने दृष्टिकोण नै परिवर्तन भयो मेरो । उहाँले औषधि जहाँबाट ल्याएको हो त्यहीं गएर डक्टरले लेखेर दिएको कम्पनि कै औषधि लिएर आउनु भनेर राम्रोसँग कुरा गर्नु भयो । डक्टर नर्स भनेको त्यस्तो पो हुनु पर्छ जस्तो लाग्यो । अरुले भए के मतलब हुन्थ्यो र तर उहाँले धेरै राम्रो कुरा गर्नु भयो हामीसँग । त्यसपछि हामी औषधि पसलमा गएर औषधि चेन्ज गयौं र पैसा पनि फिर्ता आयो ।

त्यसपछि हामी कोठा आयौं । झन धेरै सुनियो । झन डर लाग्न थाल्यो । आफुसँग धेरै पैसा पनि थिएन । अफिसमा मागेर फेरि अर्को ठाउँ उपचार गर्न जाने निर्णय गरे । त्यसपछि हामी किष्ट अस्पताल गयौं । लगभग ५ः३० भैसकेको थियो । तर उनीहरुले डक्टर छैन भनेर भोलि आउन भने तर आफुलाई धेरै समस्या भएकोले अर्को अस्पताल भएपनि जाने निर्णय गरे । उनीहरुले नै नेपाल स्किन केयर सेन्टर जानु भने त्यपछि हामी त्यहि गयौं । त्यहाँ गएर ५७५ मा टिकट काट्यौ र देखायौं ।

सबै वीर अस्पतालमै दिएको ओषधिले काम गर्छ भनिन् र एउटा मात्र नयाँ औषधि थपिदिइन् । त्यहाँ काम गर्ने नर्स किष्ट अस्पतालमा पनि काम गर्दि रहिछन् । उनले भनिन्, भोली मेरो ९.०० बजे देखि मेरो ड्युटी किष्टमा छ । तपाई जतिखेर आएर मलाई भेटे पनि हुन्छ । म त्यही हुन्छु । फेरि टिकट काट्नु पर्दैन यसैले हुन्छ भनिन् । तर कस्तो अचम्म ! त्यहाँ गएपछि फेरि टिकट काट्न लागाइयो ।

विरामीलाई गर्ने व्यवहार नै नराम्रो, पैसाको कुरा नगरौं । बेलुका रिपोर्ट आउँछ भनेर इमर्जेन्सी टिकट काटेको रिपोर्ट २ ओटाको मात्र आयो । मुख्य रिपोर्ट ८÷९ दिन पछि आउने भयो । त्यो अस्पलातमा फर्केर पनि जान मन लागेन र रिपोर्ट लिन अर्कै साथीलाई पठाए ।

त्यो नर्सले गरेको व्यवहारले अचम्म लाग्यो । फ्लोरेन्स नाइटिङगेललाई सम्झिए । उनले विरामीलाई गरेको व्यवहार सम्झिए । भनिन्छ, नर्स वा सिस्टर भन्नाले स्वास्थ्यको भाषामा बिरामीको सबैभन्दा नजिकको केयरटेकर हो र यसै मान्यतालाई आधार बनाएर अहिलेसम्म सिस्टरहरूलाई सम्मान गर्नुका साथै स्वास्थ्य उपचारका लागि उनीहरूमाथि विश्वाससमेत गरिन्छ ।

डक्टर वा नर्सको प्रस्तुतिले बिरामीको अवस्थालाई धेरै फरक पारिरहेको हुन्छ भन्ने कुरा मनोवैज्ञानिकले नै भन्ने गरेका छन् । नर्स वा डाक्टरले आफ्नो अध्ययनको क्रममा सिक्ने कुरा पनि यिनै हुन् । तर आजकाल अधिकांश नर्स र डाक्टरको अनुहार नै रिसाएको जस्तो, बोल्न पनि पैसा लाग्ला जस्तो भएपछि बिरामीहरू त्यति खेरै निराश भइसकेका हुन्छन् । अनि कसरी उनीहरूमाथि भरोसा गरुन् त ! बिरामीलाई हँसिलो मुद्रामा पनि त सम्झाउन सकिन्छ, नबुझेको कुरा झर्को नमानिकन भन्दा केही बिग्रिने त होइन नि । यसतर्फ एकपटक सोच्ने कि ?

प्रतिक्रिया दिनुहोस्