राजधानी र नाममा कांग्रेस-फोरम एक



बुटवल : प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तापक्षीय संघीय समाजवादी फोरमले प्रदेशको स्थायी राजधानी ‘रूपन्देही’ र नाम ‘लुम्बिनी’ राख्न सहमत भएका छन् । नयाँ स्थानमा राजधानी लैजाँदा व्ययभार थपिने भन्दै दुई दलले रूपन्देहीमै राजधानी हुनुपर्ने निर्णय गरेका हुन् ।

बुटवलमा आयोजित कार्यक्रममा प्रदेश ५ कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले रूपन्देहीमा राजधानी बनाउने विषय कांग्रेसको आधिकारिक धारणा भएको बताए ।

‘कांग्रेसले अस्थायी मुकाम बुटवलमा हुनुपर्छ भनेको थियो । स्थायी पनि यही हुनुपर्छ’, उनले भने । प्रदेश ५ को राजधानी रूपन्देहीमा हुनुपर्छ भन्नेमा पनि कांग्रेस रहेको उनले खुलाए ।

प्रदेशसभामा कांग्रेसको १९ सदस्य छन्। प्रदेशसभामा गठित विशेष समितिले जनतामाझ सुझाव संकलन गर्ने तयारी गरिरहेका बेला दुई दलले राजधानीका विषयमा बोलेका हुन् । संघीय समाजवादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले राजधानी र नामको विषयमा फोरमले निर्णय गरिसकेको जानकारी दिए ।

‘रूपन्देहीमा राजधानी र नाम लुम्बिनी हुनुपर्छ भन्ने निर्णय पार्टीले गरिसकेको छ’, उनले भने । भन्सार, विमानस्थल, सडक सबै पूर्वाधार भएकाले राजधानीका लागि रूपन्देही उपर्युक्त भएको उनको भनाइ छ । ‘आर्थिक भार कम गर्न र अधिक जनसंख्याको पायक पर्ने भएकाले रूपन्देहीको विकल्प अरू हुन सक्दैन’, पाण्डेले भने ।

प्रदेशसभाका पाँच दलमध्ये राजपा र जनमोर्चाका एकरएक सदस्य छन् । सत्तारुढ नेकपाका ६१ सदस्य छन्। नेकपाभित्र राजधानीको विषयमा मतभेद छ । 

प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले राजधानी घोषणाका विषयमा सुझबुझ आवश्यक रहेको बताएका छन् । कुनै भूगोलको प्रतिनिधि भएर सांसदले निर्णय र अडान लिँदा जनताको पहुँच नहुने सक्ने उनले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्