३ हजारमै हत्याको सुपारी !



सर्लाही: बरहथवामा केही दिन अघि निजी विद्यालय संचालक हत्यामा संलग्न आरोपित अभियुक्तले ३ हजार रुपैंया लिएर घटना गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पेशेवर हत्याराले लाखौं लिएर हत्याको सुपारी लिने गरेको समाचारहरु आउने गरेको भएपनि बरहथवा नगरपालिका–५ हात्तीडण्डा निवासी ३० वर्षीय मालिक महतोको हत्याका आरोपीले योजनाकारसँग ३ हजार रुपैंया मात्रै लिएर घटना गराएको देखिएको हो ।

 

नातामा मृतकको ज्वाईं पर्ने स्थानीय ३० वर्षीय धनेश्वर महतोले बागमती नगरपालिका–८, शंकरपुरका २६ वर्षीय रविन्द्र महतोलाई ३ हजार रुपैंया दिएर पुस ६ गते राती मालिकको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ।  ‘योजनाकार धनेश्वरले रविन्द्रलाई ५ गते विहिबार ३ हजार रुपैंया दिएर आफू जनकपुर तर्फ गएको र शुक्रबार राती रविन्द्र सहित दुईजनाले मालिकको हत्या गरेको देखिएको छ’, प्रहरी उपरीक्षक पोषराज पोखरेलले नागरिकसँग भने, ‘योजनाकारले अन्य लोभलालच पनि देखाएको होला, हत्याका लागि अघिल्लो दिनचाँही संलग्नले ३ हजार रुपैंया मात्र लिएका रहेछन्।’ घटनाबारे विस्तृतमा अध्ययन भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

 

प्रहरीले घटना भएको तीन दिनपछि धनेश्वर र रविन्द्रलाई पक्राउ गरी कारबाही प्रक्रिया समेत अगाडी बढाइरहेको छ। प्रहरीका अनुसार अर्का एक अभियुक्त भने फरार छन् । मालिकको रविन्द्र र फरार अभियुक्तसँग पहिला देखि नै राम्रो चिनजान थियो। उक्त दिन साँझ ७ बजेतिर सुन जस्तो वस्तु भेटिएको छ भन्ने बहाना बनाइ फोन गरेर बोलाएपछि बरहथवा बजार गएका मालिकलाई मदिरा सेवन गराएर दुईजनाले हत्या गरेको प्रहरीको दाबी छ।

 

प्रहरीका अनुसार मालिक भेट भएपछि बरहथवास्थित राजु चौकमा रहेको रक्सी पसलबाट मदिरा किनेर ना. ५२ प ७१४८ नम्बरको मोटरसाइकलमा चोर्नीया पुल नजिक एकान्त बाटोमा पुगेर तीनजनाले मदिरा सेवन गरेका थिए। राती १० बजेपछि रविन्द्र र अर्का अभियुक्त मिलेर मदिराले लठ्ठ भएका मालिकको हातखुट्टा समाती मासु काट्ने धारिलो हतियार (ग्रासी) ले टाउकोमा क्षत विक्षत ढंगले काटेर हत्या गरेको प्रहरीले जनाएको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्