धादिङमा जिप दुर्घटनामा, १२ घाइतेको हेलिकोप्टरबाट उद्धार



धादिङ: धादिङको नेत्रावती गाउँपालिका–५ जलजलेमा बोलेरो जिप दुर्घटना हुँदा एक बालकसहित १२ जना घाइते भएका छन् । जिल्लाको सदरमुकाम धादिङबेंसीबाट दार्खा जाँदै गरेको ना१ज ७३९० नम्बरको जिप अनियन्त्रित भई पल्टेर तल्लो रोडमा पुग्दा घाइते भएकामध्ये १२ जनालाई हेलिकोप्टरमा उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) डम्बरबहादुर विकले बताए ।

 

अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा बोलेरो जिपमा सवार १३ जना घाइते भएका हुन् । दुर्घटनामा परी घाइते हुनेहरूमा रुबीभ्याली गाउँपालिकाका सिहान तामाङ, नुण्डी तामाङ, नविना तामाङ, श्याम तामाङ, सुसी तामाङ, दुलाल तामाङ र बुद्धि लामा घाइते भएका हुन् ।

 

खनियाँबास गाउँपालिकाका शंकर तामाङ, शिल्पा तामाङ र नीलकण्ठ नगरपालिकाका बाबुरामप्रसाद रिजाल गरी १२ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको एसपी विकले बताए । १२ जना घाइतेको अवस्था गम्भीर भएका कारण हेलिकप्टोरबाट तत्काल थप उपचारका लागि लगिएको उनले बताए ।

 

घटनास्थलबाट बिरामीलाई तत्काल उद्धार गरेर सदरमुकाम ल्याइए पनि थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टरलाई २ घण्टाभन्दा बढी समय कुर्नुपर्दा बिरामीको अवस्थामा नाजुक भएको आफन्तले गुनासो गरेका छन् । जिल्ला अस्पताल धादिङमा उपचार भइरहेका बिरामीलाई पनि थप उपचारका लागि काठमाडौं लैजाने भन्दै चौरमा राखिएको थियो । तर, हेलिकप्टरलाई लामो समय कुर्नुपर्दा चौरमै सुताएर उपचार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्