महानगरमा सेवाग्राहीलाई थाहै नदिई सीसीक्यामरा



ललितपुर : अख्तियारले करिब ४ महिनाअघि ललितपुर महानगरपालिकामा छापा मार्‍यो । महानगरपालिकाका एक कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएर गयो । त्यसपछि मेयर चिरिबाबु महर्जनले कार्यालय सुरक्षित बनाउन सीसीक्यामरा जडान गर्ने निर्णय गरे ।

गृह मन्त्रालयको ‘सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७२’ ले सीसीक्यामरा जडान गर्दा सबैले देख्ने ठाउँमा ‘तपाईं सीसीक्यामराको निगरानीमा हुनुहुन्छ’ भन्ने जानकारी राख्नुपर्छ । 

तर ललितपुर महानगरपालिकाले कार्यालयमा कतै पनि यो सूचना राखेको छैन । मेयरको कार्यकक्षको ठीक बाहिर जडान गरिएका क्यामराबाट बाहिर को आए मोनिटरमा देख्न सक्छन् । 

तर धेरैलाई जानकारी नै हुँदैन सीसीक्यामराले सबै गतिविधि रेकर्ड गरिरहेको छ । प्रत्येक प्यासेजमा कम्तीमा दुई ठाउँ क्यामरा जडान गरिएको छ ।

मेयर महर्जनले सूचना टाँस्नुपर्नेबारे आफू जानकार भए पनि ध्यान नगएको स्वीकार गरेका छन् । उनले भने, ‘कार्यालयमा दायाँबायाँ के के भइरहेको छ हेर्छु, तर सूचना राख्नेतर्फ ध्यानै गएन, अब राखिहाल्छु ।’ 

उनले सीसीक्यामराको प्रचुर उपयोग महानगरपालिकाले लिएको दाबी गर्दै सुरक्षाको प्रत्याभूति पनि गरेको बताए । उनले थपे, ‘यसलाई अझै व्यापक बनाउने सोचाइमा छु ।’ 

महानगरको सीसीक्यामराको नियमन भने नजिकैको प्रहरी कार्यालय, महानगरीय प्रहरी परिसर जावलाखेल तथा प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा भइरहेको जानकारी महर्जनले दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्