अशान्त अफगान: आइएसका २७ लडाकु मारिए



काबुल: अफगानिस्तानमा विशेष बलले पुर्वी नांगरहार प्रान्तमा चलाएको अभियानमा इस्लामिक स्टेटका २७ लडाकु मारिएका छन् । यसबीच उत्तरी अफगानिस्तानमा तालिबान हमलामा १५ प्रहरी मारिएका छन् । नांगरहार प्रान्तको आचिन जिल्लामा विशेष बलले इस्लामिक स्टेट (आईएस)का लडाकुहरुलाई निसाना बनाइएको प्रान्तिय परिषदका सदस्य अजमल उमरले जानकारी दिएको हो ।

 

सुरक्षाकर्मीहरले जिहादीहरुमाथि हेलिकप्टरबाट गोलाबारी गरेका थिए । उक्त प्रान्त आईएसको गढ मानिन्छ । तर आईएसको सन्चार साखा अमाकले अफगानिस्तान र अमेरिकाको संयुक्त कारवाहीलाई विफल बनाएको दावी गरेको छ ।

 

उक्त अभियानमा अमेरिकी सैनिकको सहभागिताका विषयमा उमरले केही बताएको छैन । मारिएका जिहादीहरुमा आईएसका दुई स्थानिय नेता सादिक यार र सैयद उमर पनि भएको उनले बताए । उक्त कारवाहीको स्वतन्त्र रुपमा पुष्टी भने हुन सकेको छैन ।

 

त्यसैगरी अफगानिस्तानको उत्तरी क्षेत्रमासरे पुल प्रान्तमा प्रहरी चौकीमाथि तालिबानद्वारा दुई भिषण आक्रमण गर्दा १५ प्रहरीको मृत्यु र अन्य २१ घाइते भएका छन् । सैयद जिला र सरे पुल प्रान्तिय राजधानी बाहिर कयौं घण्टा मुठभेड भएको बताइएको छ ।

 

प्रान्तिय परिषदका प्रमुख मोहम्मद नुर हरमानीले तालिवानलाई धपाउन अफगान बलले भिषण गोलाबारी गरेको जानकारी दिए । भिडन्तका कारण स्थानिय बासिन्दा सुरक्षित स्थान तर्फ भागेका थिए । तालिबान प्रवक्रा कारी युसुफ अहमदीले सरे पुल प्रान्तमा भएको हमलाको जिम्मेवारी लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्