इङ्लिस प्रिमियर लिग : टोटेनहम र आर्सनल विजयी



एजेन्सी : इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएका खेलमा टोटेनहम हट्सपर र आर्सनल विजयी भएका छन् । 

गए राति कार्डिफको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामको जितमा हेरी केन, क्रिस्टियन इरिक्सन र सन हिउङ मिङले एक एक गोल गरे । तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

घरेलु मैदानमा उल्भ्ससंग अप्रत्याशित पराजय ब्यहोरेको टोटेनहमले लगत्तै अवे खेलमा सहज जित निकालेको हो ।

खेलको तेस्रो मिनेटमा केनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए । ईरिक्सनले १२ औ मिनेटमा टोलीको अग्रता दोब्बर पारे । मिनले २६ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसँगै टोटेनहमले शीर्ष स्थानको लिभरपुलमाथि दबाब बढाएको छ ।

उता आर्सनलले फुलहमलाई ४–१ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन ग्रानिट जाका, एलेक्जेन्डर लाकाजेट्स, आरोन रामसे र पेरिक एम्रिक आबुमियाङले एक एक गोल गरे । फुलहमका अबुबाकर कामराले गोल फर्काए ।

फुलहमविरुद्ध खेलको २५ औँ मिनेटमा जाकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५५ औँ मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनलको अग्रता २–० को बनाए  । तर, खेलको ६९ औँ मिनेटमा फुलहमका कामराले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए ।  

खेलको ७९ औँ मिनेटमा रामसेले गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औँ मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई सहज जित दिलाए ।

जितसँगै पाँचौँ स्थानको आर्सनलले २१ खेलबाट ४१ अंक जोडेको छ । आर्सनलले चौथो स्थानको चेल्सीसँगको अंक दुरी २ अंकमा झारेको छ । पराजित फुलहम १४ अंकसहित रेलिगेसन जोनमा छ ।

प्रतिक्रिया दिनुहोस्