ए डिभिजन लिग : थ्रीस्टार र संकटाबीचको खेल आज



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज बुधबार दुई खेल हुँदैछ । लिगको १२ औ चरणको अन्तिम दिन मनाङले हिमालयन शेर्पा र संकटाले थ्री स्टारसँग खेल्नेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साँढे २ बजे संकटा र थ्री स्टार भिड्नेछन् । दुवै टोलीको लक्ष्य लिगको उपविजेता हो । मनाङले दुई खेल अगावै लिग जितेर अन्य क्लबको उपाधि सम्भावनामा पूर्णविराम लगाइदिएको छ ।

संकटा २५ अंक सहित दोस्रो स्थानमा छ । थ्री स्टार २३ अंक सहित तेस्रो स्थानमा छ । संकटालाई पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिने मौका थ्री स्टारलाई छ ।

अर्को खेलमा मनाङले हिमालयन शेर्पासँगै खेल्नेछ । लिगको एघारौँ चरणको खेलसम्म शतप्रतिशत जित निकाल्दै उपाधि जितेको मनाङ सोही प्रदर्शनलाई अन्तिम खेलसम्म लैजान चाहन्छ । शतप्रतिशत जित सहित लिगको अन्त्य गर्ने लक्ष्य मनाङको छ ।

११ अंक सहित तालिकाको सातौँ स्थानमा रहेको हिमालयन शेर्पालाई शीर्ष ६ भित्र पर्न मनाङविरुद्वको खेल महत्त्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्