दक्षिण अफ्रिकी सरकारद्वारा न्युनतम ज्याला निर्धारण



दक्षिण अफ्रिका: दक्षिण अफ्रिकाको सरकारले देश निर्वाचनको सङ्घारमा रहेको समयमा पहिलो पटक न्युनतम ज्यालाको घोषणा गरेको छ । दक्षिण अफ्रिकामा आगामी मे महिनामा निर्वाचन हुने घोषणा भइसकेको छ ।

 

निर्वाचनमा लाखौँको सङ्ख्यामा रहेका निम्न आय भएका श्रमिकको निम्नतम ज्याला तोकेर उनीहरूको मत सत्ताधारी अफ्रिकन नेशनल कङ्ग्रेस (एएन्सी)ले मत परिणामलाई प्रभावित पार्न खोजेको विपक्षीको आरोप छ ।

 

देशको अर्थतन्त्रमा सङ्कट रहेकै समय ज्याला तोकेर देशलाई थप सङ्कटतिर धकेल्ने निर्णयको पछि नलाग्न अफ्रिकी डेमोक्रेटिक अलायन्सले ट्रेड यूनियन तथा गरिब नागरिकलाई आग्रह गरेको छ । उसले राष्ट्रपतिको पछिल्लो कदम मत आकर्षण गर्ने योजनाभन्दै यसप्रति सचेत बन्न भनेको छ ।

 

राष्ट्रपति साइरिल रामापोसाले ज्याला निर्धारणबाट गरिब तथा ग्रामिण वस्तीका जनतालाई राहत दिने अपेक्षा गरिएको बताए । प्रतिघन्टा १.३९ अमेरिकी डलर बराबर निम्नतम ज्याला निर्धारणको राष्ट्रपतिको घोषणालाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे ट्रेड यूनियनमा विभाजन देखिएको छ ।

 

नयाँ बर्षको अवसर पारेर घोषणा गरिएको यस निर्णयबाट लाखौँ श्रमिकले आफ्नो उचित ज्याला पाउने विश्वास रामापोसाले लिएका छन् । एएनसीले सरकारी कदमबाट शहरका गरिब र ग्रामिण जनतालाई न्याय मिल्ने बताएको छ ।

 

पूर्व राष्ट्रपति याकोव जुमाले भ्रष्टाचार गरेको हल्लाले एएनसीका मतदातामा परेको नकारात्मक छाप मेट्न रामापोसाले यो निर्णय लिएको विश्लेषकहरूले बताएका छन् ।  दक्षिण अफ्रिकामा गत बर्षको आर्थिक वृद्धि शुन्य दशमलब सात प्रतिशत रहने प्रक्षेपण गरिएको छ भने वेरोजगार दर अहिलेसम्मकै बढी २७ प्रतिशत रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्