लेखा समितिद्वारा चिनीको अनुगमन गर्न उपसमिति गठन



काठमाडौं  : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकले चिनीमा कालोबजारी बढेको भन्दै छानबिनका लागि उपसमिति गठन गरेको छ । सरकारले आयातमा बन्देज लगाएपछि व्यापारीले मनलाग्दी चिनीको भाउ बढाएको उनीहरुको आरोप छ ।  समिती गठन गरेको उपसमितिमा पाँच जना सदस्य रहनेछन् । पन्ध्र दिनभित्र सुझाव सहितको रिपोर्ट बुझाउनुपर्ने उपसमितिलाई टिओआर दिइएको छ ।

सरकारको कमजोर निगरानीका कारण चिनीको बजारमा अराजकता देखिएको सांसद हृदयेश त्रिपाठीले बताए । सरकार आँखा चिम्लेर व्यापारीको जालोमा पर्दै गएको उनले आरोप लगाएका छन् । पछिल्लो समयमा  विभिन्न चरणमा उद्योगीले आफ्नो स्वार्थअनुसार माग राख्दा सरकारले सीधा तरिकाबाट मान्दै आएको उनले बताए ।

 

 उनले भने, ‘पहिला घरेलु उद्योग जोगाउने नाममा भन्सार बढाउन लगायो । त्यसपछि कृषकको उत्पादनको भुक्तानी देखाउँदै चिनीको आयातमै रोक लगाउन लगायो । सरकारले उद्योगीको कुरा बिना सोचीसम्झी निर्णय गर्दै गयो । परिणामत अहिले चिनीमा कालोबजारी मौलायो । उपभोक्ता मारमा परे, कृषकले भाउ पनि पाएनन्’, उनले भने ।

उनले बजारमा चिनीको फरकफरक दाममा बेच्ने व्यापारीलाई कटाक्ष गर्दै भने, ‘बजारमा एउटै चिनीको पनि फरक मूल्य छ । महँगो चिनीको स्वाद गुलियो र सस्तो चिनीको स्वाद अमिलो त हुने होइन होला ।’

 

सांसद पार्वता जिसी चौधरीले त्रिपाठीको भनाइमा समर्थन जनाउँदै व्यापारीले सरकारलाई घुमाइरहेको आरोप लगाएकी छन् । व्यापारीले भनेको आधारमा बिना सोच विचार चिनीको आयात रोक्नु दुर्भाग्यपुर्ण रहेको उनले बताइन् । 

 

अर्का सांसद लेखराज भट्टले चिनीको मुनाफा कति हुनुपर्ने हो त्यसको निक्र्यौल सरकारले गर्नुपर्ने बताएका छन् । उनले भने, ‘बजारलाई किन छाडा छोडिरहेका छौं ?

भट्टले अब बन्ने उपसमितिले चिनीबाहेक समग्र उपभोग्य वस्तुको अनुगमन गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्