१६ वर्षको किशोरले दिए सलमानको घरमा बम पड्काउने धम्की



एजेन्सी : बलिउड सुपरस्टार सलमान खानलाई एक १६ वर्षीय किशोरले धम्की दिएका छन् । गजियाबादका उक्त किशोरले सलमानलाई इमेल गर्दै उनको घरमा बम विस्फोट गराउने धम्की दिएका हुन् ।

मुम्बई प्रहरीका अनुसार ती किशोरले डिसेम्बर ४ मा सलमानलाई इमेल पठाएका थिए । उक्त इमेलमा लेखिएको छ, ‘बान्द्रामा भएको सलमानको घर केही घण्टामै विस्फोट हुनेछ । रोक्न सक्छौ भने रोक ।’

प्रहरीका अनुसार इमेल पाउनेवित्तिकै प्रहरीले अनुसन्धान थालेको र प्रहरी टोली बम डिस्पोजल टोलीसहित सलमान खानको घर पुगे । सलमान खान आफ्ना परिवारसँग मुम्बईको बान्द्रा इलाकामा रहेको ग्यालेक्सी अपार्टमेन्टमा रहन्छन् ।

करिब चार घण्टा लामो खोजतलासमा पनि सलमानको घरमा केही नभेटिएपछि प्रहरीले उक्त इमेल झुटो भएको पत्ता लगायो । त्यसपछि प्रहरीले उक्त युवकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्