सम्पदा क्षेत्रमा फिल्म सुटिङ झन्झटिलो



काठमाडौं: गत साता इजरायलको एक रियालिटी सोले बौद्ध स्तुपामा सुटिङ हुनुअघि अनावश्यक झन्झट खेप्नुपर्‍यो। नेपालमा विदेशी फिल्म खिच्न नेपाल सरकार सञ्चार मन्त्रालय र श्री बौद्धनाथ क्षेत्र विकास समितिबाट सुटिङपूर्व अनुमति लिए पनि जानकारी नगराएको भन्दै बौद्ध घ्याङ गुठीले सुटिङ रोक्यो ।

 

तत्काल उक्त रियालिटी सोमा आबद्ध फिल्मकर्मीहरूले लिखित रूपमा निवेदन दिएपछि बल्ल सुटिङ सुचारु भएको थियो। ९२ जना विदेशीसहित एक सय ६० जनाको सुटिङ युनिटले बौद्ध स्तुपा सुटिङका लागि लाग्ने दस्तुर श्री बौद्धनाथ क्षेत्र विकास समितिलाई तिरे पनि बौद्ध घ्याङ गुठीले अनावश्यक दुःख दिएपछि सुटिङ छोट्याउन बाध्य भएको थियो।

 

‘बौद्ध स्तुपा वरपर फिल्म र डकुमेन्ट्री सुटिङ गर्न प्रतिबन्धजस्तो रहेछ। रियालिटी सोको सुटिङ राति गर्नुपर्ने थियो। त्यहीअनुसार बौद्ध विकास समितिबाट अनुमति लिएका थियौं। सुटिङ सुरुअघि घ्याङ गुठीका प्रतिनिधि आएर जानकारी नगराएको भन्दै सुटिङ रोकिदिए,’ रियालिटी सोमा आबद्ध संगम मगरले भने, ‘सम्पदा क्षेत्रमा फिल्म सुटिङ गर्दा जहिल्यै स्थानीयहरूले अवरोध पुराउने हुँदा अनावश्यक दुःखसँग सुटिङ लम्बिने गरेको छ।’

 

निर्देशक जोङसार खिन्से रिम्पोछेद्वारा निर्देशित ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’को सुटिङ पाटन दरबार क्षेत्रमा गर्नुअघि फिल्म युनिटले करिब दुई साता अनावश्यक झन्झट खेप्नुपर्‍यो। फिल्मको सुटिङ हुनु एक महिनाअघि सबै ललितपुर महानगरपालिका र पाटन दरबार क्षेत्रबाट सुटिङको अनुमति पाए पनि सुटिङको मुखैमा स्थानीय असहयोग गरेपछि सुटिङको अवधि लम्बिएको थियो। ४३ जना विदेशीसहितको एक सय ११ जनाको सुटिङ युनिटले फिल्मको स्क्रिप्ट र निर्देशकबारे जानकारी गराएपछि मात्र पाटन दरबार क्षेत्रमा सुटिङका लागि अनुमति पाएको थियो।

 

‘फिल्मकर्मीहरुले हरेक फिल्म सुटिङको दौरान नेपाल सरकारअन्तर्गतको निकायबाट अनावश्यक दुःख खेम्नुपर्ने बाध्यता छ। पाटन दरबार क्षेत्रसँग आबद्ध कर्मचारीहरूले पर्याप्त सूचना नदिँदा अग्रिम अनुमति पाउँदा पनि सुटिङका बेला अनावश्यक दुःख पाएका थियौं,’ फिल्म निर्माता रवीन्द्रसिंह बानियाँले भने, ‘स्क्रिप्टको संक्षिप्त विवरण र निर्देशकबारे जानकारी गराएपछि बल्ल सुटिङ गर्न पाएका थियौं।’ उक्त फिल्म युनिटले पाटनवरपर ११ दिन सुटिङ गरेको थियो।

 

गत चैतको पहिलो साता ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा विश्व सम्पदा सूचीमा सूचीकृति पाटन दरबार संरक्षित स्मारक क्षेत्रको सम्पदाहरूको संरक्षण र व्यवस्थापनको छलफलले पाटन दरबार हेरचाह कार्यालयका प्रमुखको संयोजकत्वमा पाटन दरबार क्षेत्र व्यवस्थापन समिति गठन भएलगत्तै धार्मिक सम्पदामा असर नगर्ने फिल्महरूको मात्र सुटिङ गर्न दिने निर्णय गरिएको थियो।

 

११ सदस्य उक्त समितिले ललितपुर महानगरपालिका र पाटन दरबार क्षेत्रबाट स्वीकृत पाएको फिल्महरूलाई मात्र सुटिङ गर्न दिने गरेको छ। ‘पाटन दरबार क्षेत्रमा पर्यटकहरुलाई असर पर्ने गरेर हुने अनावश्यक इभेन्ट र सुटिङहरूलाई व्यवस्थित गर्न यो समिति गठन भएको हो। यसले धार्मिक सम्पदामा असर नगर्ने फिल्म, म्युजिक भिडियो र डकुमेन्ट्रीहरूलाई प्रोत्साहित गरेको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्