अवैध क्रियाकलाप रोक्न रसुवा भन्सारमा सिसी क्यामेरा जडान



रसुवा: भन्सार क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलाप रोक्ने कार्य सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सिसी क्यामेरा जडान गरिएको छ ।

 

प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार चीनको केरूङबाट आयात गरिएको सामान जाँच सही रूपमा गरे नगरेको हेर्न र चोरी निकासीको निगरानी बढाउन सिसी क्यामेरा जडान गरिएको हो। सामान जाँच स्थलदेखि टिमुरेको घट्टेखोलासम्म सिसी क्यामरा जडान गरी कार्यालय परिसरबाट थप निगरानी थालिएको हो ।

 

दैनिक सयौंको सङ्ख्यामा मालबाहक सवारीसाधन र मानव चापका कारण सम्भावित चुहावट रोकी भन्सारलाई सुधारोन्मुख गर्न मद्दत पुग्ने अधिकृत खड्काले बताए ।

 

राजश्व गस्ती तथा भन्सार सुरक्षा मजबुत पार्न सशस्त्र प्रहरी गुल्मको व्यवस्थाले सुरक्षामा थप मजबुत हुँदै गएको छ। चीनबाट आयात भएको सामग्री सरकारी मापदण्डअनुरूप छिटोछरितो परीक्षण गराउन आलोपालो हिसाबले ३० जाँचकी परिचालन गरिएको छ। रासस

 

प्रतिक्रिया दिनुहोस्