प्रहरीले ज्यादती गर्यो भन्दै स्थानीयद्वारा सडक अवरुद्ध



सप्तरी : प्रहरीले बिनाकारण स्थानीयलाई कुटपिट गरेको भन्दै सप्तरीको खडक नगरपालिकामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

बुधबार बिहानै कल्याणपुर चोकमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

 

सवारी जाँचका नाममा प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको र घरमा राखेका सवारीसाधन पनि नियन्त्रणमा लिएपछि विरोध गरिएको स्थानीले बताएका छन् । स्थानीयको अवरोधका कारण बिहान ८ बजेदेखि करीब १ घन्टा राजमार्ग अवरुद्ध भएको थियो । ९ बजेपछि सडक सूचारु भएको प्रहरीले जनाएको छ ।

 

मंगलबार राजमार्गमा सवारी जाँचका क्रममा बोदेवरसाइन नगरपालिका, पर्साही टोलका युवालाई प्रहरीले हातपात गरेको स्थानीयले बताए । चेकजाँचपछि छोडिएको चौधरीको स६प ९४७३ नम्बरको मोटरसाइकल घरबाटै नियन्त्रणमा लिएर प्रहरीले एकमाथि अर्को ज्यादती गरेको पीडित परिवारको आरोप छ ।

 

इलाका प्रहरी कार्यालय, कल्याणपुरले ट्राफिकको चेक प्वाइन्टलाई छलेर भागेपछि चौधरीको मोटरसाइकल नियन्त्रणमा लिइएको जनाएको छ । मोटरसाइकल उनको घरबाट नियन्त्रणमा लिइएको स्वीकारे पनि कुटपिट भने नगरेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्