सन्दीपले किन बिचमै छोडे ‘बिग बास’ ?



काठमाडौं: नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन् ।

 

अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् ।

 

अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए । सन्दीपले स्यलहेट सिक्सर्सबाट बङ्गलादेश प्रिमियर लिग खेल्ने छन् । बिपिएल क्रिकेट आगामी शनिबारदेखि शुरु हुनेछ । बङ्गलादेश प्रिमियर लिगपछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन् । नेपालले माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा एक दिवसीय र टी–२० शृङ्खला खेल्नेछ ।

 

बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लिएका आठ विकेट मध्ये पहिलो खेलमा दुई, दोस्रो खेलमा तीन, तेस्रो खेलमा दुई र चौथो खेलमा एक विकेट लिएका थिए । जारी लिगको चारै खेलमा विकेट लिँदै सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा आफूलाई दर्ता पनि गराइसकेका छन् । उनले चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्