टी–ट्वेन्टी विश्वकपका लागि १० टोलीको छनोट



एजेन्सी : २०२० मा हुने आइसिसी टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि १० टिम छनोट भएको छ ।

अस्ट्रेलियामा हुने विश्वकपका लागि २०१८ को डिसेम्बरसम्म आइसिसीको टी–ट्वेन्टी वरीयताको शीर्ष १० टिम छनोट भएको हो । छनोट हुने टिममा शीर्ष स्थानको पाकिस्तानसहित भारत, इङ्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अफगातिस्तान छ । 

त्यस्तै शीर्ष ८ टिम सुपर–१२ का लागि सिधै छनोट भएको छ ।

नवौं र दशौं वरीयताको श्रीलंका र बंगलादेश विश्वकपका लागि छनोट भएपनि उनीहरुले समूह चरण खेल्नुपर्ने हुन्छ ।

टेस्ट मान्यताप्राप्त जिम्बावे र आयरल्यान्ड भने सिधै विश्वकपमा छानिन असफल भएको छ । उनीहरुले छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ । 

अक्टोबर २०१९ मा १४ टिमबीच छनोट प्रतियोगिता हुँदैछ । छनोट प्रतियोगितामा जिम्बावे र आयरल्यान्डहित अघिल्लो विश्वकप खेलेका स्कटल्यान्ड, नेदरल्यान्ड्स, हङकङ र ओमानले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ । छनोट प्रतियोगिता खेल्ने बाँकी ८ टिमका लागि अहिले विभिन्न महादेशमा क्षेत्रीय छनोट भइरहेको छ ।

१४ टिमबीच हुने छनोट प्रतियोगिताबाट ६ टिम टी–ट्वेन्टी विश्वकपमा पुग्नेछ । छनोट भएर पुग्ने ६ टिम तथा बंगलादेश र श्रीलंकाबीच विश्वकपको समूह चरणमा प्रतिस्पर्धा हुनेछ । समूह चरणबाट ४ टिम सुपर–१२ मा पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्