प्रेमर्षि प्राज्ञ नियुक्त 



काठमाडौं : नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा साहित्यकार एवं भाषाविद् धीरेन्द्र प्रेमर्षि नियुक्त भएका छन् । सरकारले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति एवं उपकुलपतिसँगै प्राज्ञ सदस्य पनि नियुक्त गरेको छ । 

प्रेमर्षि यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञासभा सदस्य र संस्कृति मन्त्रालयअन्तर्गतको अभौतिक सांस्कृतिक सम्पदा परिषद्को विज्ञ सदस्य रहिसकेका छन् । सञ्चार, कला, साहित्य, गीत र संगीत सिर्जनामा अनवरत लागेका प्रेमर्षिले मैथिली भाषाका विद्यालयस्तरीय पाठ्यपुस्तक पनि लेखेका छन् । 

प्रेमर्षिद्वारा अनुवादित र लिखित दर्जनभन्दा बढी कृति प्रकाशित छन् । प्रेमर्षिले २०७५ को कामना अवार्ड, डि सिने अवार्डमा सर्वोत्कृष्ट गीतकार सम्मान पनि पाएका छन् ।

प्रेमर्षिसँगै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञमा हरिदेवी कोइराला, नमुना शर्मा, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल(मञ्जुल) नियुक्त भएका छन् ।

त्यस्तै सरकारले ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा रमेशनाथ खनाल, मिथिला देवी, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्यलाई नियुक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्