३ सांसद पल्टेपछि जीतेन्द्र सोनलको पद जोगियो, राजपामा खैलाबैला 



जनकपुरधाम : राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका अध्यक्षमण्डल संयोजक भएपछि राजेन्द्र महतोले गर्दै आएका निर्णय ‘अवैध र विवादास्पद’ भएको भन्दै पार्टीकै नेताकार्यकर्ताले चर्को प्रतिरोधको तयारी थालेका छन् ।

 

पार्टी विधानमा कुनै पनि निर्णय सर्वसम्मतले गर्नुपर्ने प्रावधान रहे पनि संयोजक महतोले विगतका अभ्यास र सहमतिका आधारमा जिल्ला अध्यक्षमण्डलका सदस्य परिवर्तन गर्ने वा चक्रीय प्रणालीअनुरूप जिल्ला अध्यक्षमण्डल संयोजक परिवर्तन हुन नदिनेजस्ता निर्णय गरेकाले लोकतान्त्रिक शैलीमा विरोध गर्ने राजपा नेताहरूले बताएका छन् । 

पार्टी महाधिवेशन तयारीक्रममा बुधबार विभिन्न जिल्लामा विस्तारित बैठकका लागि केन्द्रीय पर्यवेक्षक खटाइएका छन् । महतो संयोजक भएपछि विभिन्न जिल्लामा गरिएको नेतृत्व हेरफेर र कुनैकुनै ठाउँमा नगरिएको स्वाभाविक परिवर्तनका विरुद्ध पार्टीको एउटा पक्षले बैठक बहिष्कार गर्ने भएको छ । 

मोरङ, धनुषा, महोत्तरी र रौतहटलगायतका जिल्लामा अध्यक्षमण्डलका पूर्वसंयोजक महन्थ ठाकुर पक्षधरले बैठक बहिष्कार गर्ने पार्टी स्रोतले जनाएको छ । ‘विधान र प्रक्रियाविपरीत संयोजकमै सबै अधिकार केन्द्रित गर्ने अनपेक्षित अभ्यास थालिएको र यसका अनुत्पादक प्रभाव देखिन थालेपछि हामीले बैठक बहिष्कारबाट विरोध गरेका हौं,’ ठाकुरपक्षीय एक नेताले भने, ‘ठाकुरजीको तटस्थता र चुप्पीले मनपरी गर्ने विषयमा संयोजक महतोको आत्मबल बढ्दै गएकाले हामी भुइँस्तरमा विरोध थालेका हौं ।’ 

उनका अनुसार संयोजक महतोले पार्टी संगठन नै बिथोलिने गरी दूरगामी प्रभावका निर्णय लिन थालेकाले पनि नेताकार्यकर्तालाई विरोधको बाटो अंगाल्नुपरेको हो । 

सांसद फकाउने, सांसद फर्काउने खेल यस्तो छ

पार्टीभित्र चुलिँदै गएको विवाद, विमति र कलह साम्य नभएका बेला प्रदेश २ संसदीय दलका नेताबाट जीतेन्द्र सोनललाई च्युत गर्ने संयोजक महतोको प्रयास विफल भएको छ । पार्टी महामन्त्रीसमेत रहेका सोनल तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको पृष्ठभूमिका छन् । 

पार्टी अध्यक्षमण्डल संयोजकबाट महन्थ ठाकुर बलात् हटाइएपछि सोनलको पद संकटमा परेको अनुभव गरिएको थियो । तत्कालीन सद्भावना पृष्ठभूमिका प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह र सुरिता साहमध्ये कुनै एकलाई संसदीय दलका नेता बनाउने कसरतक्रममा ११ जना प्रदेश सांसदको हस्ताक्षर गराइएको छ । 

उनीहरूले दलका नेता सोनललाई पदच्युत गर्नुपर्ने माग गर्दै हस्ताक्षर गरेका हुन् । यद्यपि महतोनिकट एक नेताका अनुसार सोनललाई हटाउन माग गरिएको पत्रमा ५८ प्रतिशत अर्थात् १४ जना सांसदको हस्ताक्षर रहेको छ । 

‘सांसदको हस्ताक्षर भएको पत्र संयोजक महतोको हातमा परिसकेको छ । उहाँले उपयुक्त समयमा यससम्बन्धी निर्णय गर्नुहुनेछ,’ महतोनिकट नेताले भने । 

संसदीय दलको नेताका रूपमा सोनल प्रदेश २ सरकारमा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीमा राजपाको नेतृत्व पनि गर्दैछन् । संसदीय दलको नेताबाट हटाइए उनी वरिष्ठ मन्त्रीको जिम्मेवारीसमेतबाट मुक्त हुनेछन् । 

यता आफूविरुद्ध हस्ताक्षर अभियान चलाइएको सुइँको पाएपछि सोनलले हस्ताक्षर गरेका एघारमध्ये तीन सांसदलाई आफ्नो पक्षमा ल्याउन सफल भएका छन् । उनले अल्काकुमारी झा, बबिता चौधरी र रीना यादवलाई आफ्नो पक्षमा ल्याएका हुन् । स्रोतका अनुसार तीन सांसद सोनलको पक्षमा फर्किएपछि आठजना मात्र उनलाई हटाउने अभियानमा लागेका छन् ।

यी तीनैजना सांसदले आफूहरूलाई झुक्याएर सोनल हटाउने अभियानमा सहभागी बनाइएको बताए । महतो पक्षले दाबी गरेका १४ जनामध्ये उपेन्द्र महतोले आफू टीकाप्रथाबाट दलको नेता मनोनयन भएको विरोधमा रहेको भए पनि दलको नेता हटाउने कुनै पनि मागपत्रमा हस्ताक्षर नगरेको बताए । 

उनले भने, ‘अध्यक्षमण्डलले दलको नेता चयन गर्ने होइन । विधि र प्रक्रियाअनुसार संसदीय दलका सदस्य अर्थात् सांसदहरूले गर्ने हो । म यस कुरामा नै जोड दिइरहेको छु ।’ 

स्रोतका अनुसार सांसद उपेन्द्रले आफूलाई नेता बनाउने भएपछि मात्र सोनल हटाउने मागपत्रमा हस्ताक्षर गर्ने जनाएका थिए । यता मागपत्रमा प्रदेशकै मन्त्री रामनरेश रायको हस्ताक्षर भएको दाबी गरिएको छ । तर, रायले आफू वरिष्ठ रहेकाले बहुसंख्यक सदस्यको सही भइसकेपछि मात्र अन्तिम समयमा हस्ताक्षर गर्ने भन्दै पन्छिएका छन् । 

सांसद बबिता चौधरीले आफूलाई मन्त्री नवलकिशोर साहले झुक्याएर सोनल हटाउनेबारेको पत्रमा हस्ताक्षर गराएको बताइन् । उनले भनिन्, ‘म सोनलजीको पक्षमा छु । मैले गरेको हस्ताक्षरको कुनै अर्थ छैन ।’ 

त्यस्तै हस्ताक्षर गरेको भनिएकी अर्का सांसद रीना यादवले आफूले हस्ताक्षर गरे नगरे पनि सोनललाई आफ्नो कुरा राख्न दिनुपर्ने अनिमात्र कुनै टुंगोमा पुग्नुपर्ने बताइन् । हस्ताक्षर अभियानमा सामेल भएको भनिएकी अल्काकुमारी झाले पनि झुक्किएर सोनलविजरुद्धको अभियानमा हस्ताक्षर गर्न पुगेको बताइन् । 

अर्कातिर पार्टीको धनुषा अध्यक्षमण्डलमा हेरफेर भएको विरोधमा राजेन्द्र महतोको पुत्लादहन भएको घटनामा संलग्न प्रमुख सचेतक परमेश्वर साहलाई हटाउन संसदीय दलको नेता सोनलमाथि दबाब परेको छ । 

‘साहलाई प्रमुख सचेतकबाट नहटाए सांसदको हस्ताक्षर भएको मागपत्रका आधारमा सोनललाई नै हटाउने भनिएको छ,’ पार्टी स्रोतले भन्यो । 

यसबारे संसदीय दलको नेता सोनलले अहिले आफ्नो प्राथमिकतामा प्रदेश २ को संयुक्त सरकार सञ्चालन र सरकारमा राजपाको प्रभावशाली भूमिका, सरकारबाट जनतामा प्रवाह हुने सेवावृद्धि र पार्टीको सांगठनिक सुदृढीकरण आदि रहेकाले हस्ताक्षर अभियानबारे चासो नलिएको बताए । उनले भने, ‘आइपरेपछि जुनसुकै परिस्थितिको सामना गर्न तयार छु ।’

 

प्रतिक्रिया दिनुहोस्