निषेधित मन्दिरमा महिलाको प्रवेश



एजेन्सी : भारत केरलाको सबरीमला मन्दिरमा ५० वर्षभन्दा कम उमेरका दुई महिला प्रवेश गरेका छन् । स्वामी अयप्पाको मन्दिर सबरीमलामा १० देखि ५० वर्ष उमेरका किशोरी तथा महिलाले प्रवेश गर्ननपाउने नियम थियो । 

भारतको सर्वोच्च अदालतले सेप्टेम्बर २८ मा मन्दिरमा सबैले प्रवेश गर्नपाउने आदेश दिएपनि कट्टरपन्थीहरुले परम्परा बिग्रिने भन्दै निर्णय कार्यान्वयन हुनदिएका थिएनन् ।

यसअघि पनि मन्दिर प्रवेशको प्रयास गरेका पेरिनथलमन्नाकी विन्दु र कन्नुरकी कनकदुर्गा बुधबार बिहान मात्र मन्दिरमा प्रवेश गर्न सफल भएका हुन् । एक महिना पहिले मन्दिर प्रवेशको प्रयास गर्दा उनीहरुलाई दक्षिणपन्थी संगठनका कार्यकर्ताले रोकेका थिए ।

उनीहरुलाई मन्दिरभित्र प्रवेश गर्न सरकारले सुरक्षा दिएको थियो । सादा कपडामा रहेका दुई महिला प्रहरी तथा अरु सहयोगीको सुरक्षामा स्वामी अयप्पाको मन्दिरमा उनीहरु प्रवेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वामी अयप्पा ब्रह्मचारी रहेकाले महिनावारीको उमेर पुगेका वा महिनावारी हुने उमेरका महिलामाथि प्रवेशमा रोक लाग्दै आएको थियो । 

भारतीय जनता पार्टी (भाजपा) र उसका सहयोगी संगठनहरुले महिलालाई मन्दिर प्रवेशमा रोक लगाउँदै परम्परा कायम राख्नु पर्ने पक्षमा अभियान चलाएका छन् । सरकारले सतर्कता अपनाउँदै राज्यमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्