गैंडाको खागसहित एक पक्राउ



कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकामा गैंडाको खागसहित एकजना पक्रउ परेका छन् । 

 

बाजुराको साबिक ब्रह्मतोला गाविस वडा नम्बर ४ घर भएर हाल धनगढी उपमहानगरपालिका–५ जाईमा बस्दै आएका ५१ वर्षीय चक्र भण्डारीलाई प्रहरीले मंगलबार गैंडाको खागसहित पक्राउ गरेको हो ।

 

वन्यजन्तु ओखेटोपहार अवैध चोरीसिकारी, ओसारपसार तथा बिक्रीवितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मंगलबार धनगढी उपमहानगरपालिका–६ का गगन रौउलेको घरमा लुकाईछिपाई राखेको अवस्थामा गैंडाको खागसहित उनलाई पक्राउ गरेको हो । 

 

जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार पत्रकार सम्मेलन गरी गैंडाको खागसहित भण्डारीलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता हरि वलीले यस्तो अपराधमा भण्डारी एक्लै नभएर अरू पनि हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको बताए । 

 

भण्डारीले गैंडाको खाग भारतबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ । पक्राउ परेका भण्डारीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्