चिकित्सा शिक्षा विधेयकमा जुटेन सहमति



काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई लिएर एकपटक फेरि सत्तापक्ष र प्रतिपक्षका सांसदमा तीव्र मतभिन्नता आएको छ ।

वरिष्ठ चिकित्सक गोविन्द केसीसँग भएको सम्झौताविपरीत विधेयक आएपछि बुधबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य उपसमिति बैठक स्थगित भएको छ । 

डा. केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै आएको नेपाली कांग्रेसले केसीसँगको सम्झौताविपरित सत्तापक्षले आफूखुसी विधेयक ल्याएको भन्दै असन्तुष्टि जनाएको छ ।   

उपसमिति बैठकमा कांग्रेस सांसदले केसीको मागअनुसार विधेयक हुबहु आउनुपर्ने अडान राखे । यता सत्तापक्षका सांसद भने संशोधनसहितको विधेयक पेश गर्दै पारित गराउन चाहन्थे ।  

केसीको माग बमोजिम काठमाडौंबाहिरका मेडिकल कलेजलाई सम्बन्धन नदिने र सिटिइभिटीका शैक्षिक कार्यक्रम राख्ने विषयमा सत्तापक्षका सांसदले संशोधन ल्याएका थिए ।

यता डा. केसी भने सहमतिविपरित विधेयक ल्याइएको भन्दै १५ औं पटक अनसन बस्ने तयारीमा छन् । उनले सम्झौताअनुसार विधेयक पास गर्न मंगलबारसम्मको समयसीमा दिएका थिए ।

मंगलबारसम्म विधेयक पास नभएपछि उनी सत्याग्रहका लागि इलाम पुगेका छन् ।

यसैबीच, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले सम्झौता अनुसार नै विधेयक अघि बढ्ने बताउँदै डा. केसीलाई अहिले सत्याग्रह नथाल्न र केही दिन पर्खिन आग्रह गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्