भारतीय प्रधानन्यायाधीश : जाेसँग छैन निजी गाडी र घर



एजेन्सी : भारतको सर्वोच्च अदालतमा जब रञ्जन गोगोईको नाम प्रधानन्यायाधीशमा चर्चा हुन थाल्यो । तब उनले भारतीय मिडियामा खुबै तारिफ पाए । यो अचानक सुरु भएको चर्चा भने होइन ।

 

किनकि पूर्वप्रधानन्यायाधीश दीपक मिश्राले अवकास लिँदा नै गोगोईलाई प्रधानन्यायाधीमा सिफारिस गरेका थिए र उनको यो सिफारिसको निकै प्रशंसा भएको थियो ।

 

भारतीय मिडियाले गोगोईलाई पारदर्शी, सबल र सक्षम न्यायाधीशका रुपमा चित्रण गरेका छन् । किनकी गोगोईले यसअघि सधैं निष्पक्ष फैसला गर्दै आएका थिए । त्यति मात्र होइन, केहीअघि उनले अन्य तीन वरिष्ठ न्यायाधीशहरुसँग मिलेर पत्रकार सम्मेलन गरेका थिए । त्यो पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालत स्वतन्त्र हुन नसकेको, राजनीतिक दबाबमा परेको चर्चा उठाएका थिए । 

 

गोगोई अत्यन्त सरल न्यायाधीश हुन् । भारतमा अधिकांश न्यायाधीशहरुले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् । तर, गोगोईले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । त्यसमा उनले समाजसेवी आमा शान्ती गोगोईबाट पाएको वंशजको सम्पत्तिबाहेक अन्य केही नभएको उल्लेख गरेका छन् ।

 

कतिसम्म भने गोगोईसँग आफ्नै घर छैन, आफ्नै गाडी छैन । 

 

भारतमा सन् १९९७ मा भएको एउटा अदालती बैठकले सर्वोच्च अदालतमा पारदर्शीता कायम गर्न सबै न्यायाधीशहरुको सम्पत्ति विवरण बुझाउनु पर्ने प्रस्ताव पारित गरेको थियो । तर, अझै कतिपयले यसको अटेरी गर्दै आएका छन् ।

 

अर्काेतिर गोगोईसँग यसअघि काम गरेका धेरै वकिलहरुले पनि उनको प्रशंसा गर्दै आएका छन् । प्रधानन्यायाधीशमा नियुक्त हुनुभन्दा पहिले उनले गोयन मेमोरियल लेक्चरको क्रममा न्याय व्यवस्था निष्पक्ष बनाएर संस्थाको गरिमा कायम गर्न जरुरी रहेको बताएका थिए ।

 

उनी मुख्यन्यायाधीश बनेपछि अन्य न्यायाधीशको नियुक्ति गर्ने र न्यायप्रणालीको सुधार गर्न महत्वपूर्ण काम गर्नेछन् भन्ने भारतीयहरुको विश्वास छ ।

 

पछिल्लो समय भारतमा जातीय तथा धार्मिक हिंसामा वृद्धि भएको छ । भारतमा पनि विभिन्न अपराधका आरोपितहरु सार्वजनिक स्थानमा सम्मानितसमेत भएका छन् । यस्तो न्याय व्यवस्थाले अल्पसंख्यक एवं पीडित व्यक्तिहरुमा डिप्रेसनको समस्या देखिन सक्छ । गोगोईले यस्ता समस्याहरुको अन्त्य गर्ने विश्वास लिइएको छ ।

 

गोगोई भारतमा प्रधानन्यायाधीशका रुपमा एक वर्ष रहनेछन् । उनी १८ नोभेम्बर २०१९ मा सेवानिवृत्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्