वीरगन्जमा राष्ट्रिय झन्डा चिनाउँदै शिल्पकार



वीरगन्ज : वीरगन्जको घन्टाघरचोकमा बुधबार बिहान एक व्यक्ति ५ फिटभन्दा लामो नेपाली राष्ट्रिय झन्डा बोकी सिटी बजाउँदै हिँडदै गरेको अवस्थामा देखिए । देख्दा उनी अलि बौलाहाजस्तो लागे । तर उनी बौलाहा होइनन्, राष्ट्रिय झन्डा चिनाउन वीरगन्जको घण्टाघरचोकमा आइपुगेका भक्तपुर निवासी लक्ष्मीनारायण शिल्पकार हुन् ।

 

राष्ट्रिय झन्डाको पहिचान र महत्व बुझाउन उनी वीरगन्ज आइपुगेका हुन् । द नेपालटपसँग कुराकानी गर्दे अभियानी शिल्पकारले भने, ‘हाम्रो देशमा राष्ट्रिय झन्डाको पहिचान गुम्न थालेपछि ३ करोड नेपालीलाई यसको पहिचान र महत्वबारे बुझाउन झन्डा बोकी अभियानमा निस्केको छु ।’ 

 

पहिलोपल्ट राष्ट्रिय झन्डा बोकेका शिल्पकार भन्छन्, ‘म २०६३ सालमा आफनै लागि राष्ट्रिय झन्डा बोकेँ तर मलाई झन्डा बोकेका देख्नेबित्तिकै सबैले भन्न थाले कि यिनले कुनै पार्टीका झन्डा बोकेका छन्, कोही त धर्मको झन्डा बोकेको भन्थे भने कोही राजाको झन्डा बोकेको आरोपसमेत लगाउन थाले ।’

 

उनले राष्ट्रिय झन्डा बोक्दा पनि हाम्रो देशको राष्ट्रिय झन्डा हो भनी कसैले चिन्न नसकेकोमा दुःख व्यक्त गरे । भावुक हुँदै उनले भने, ‘त्यही दिनदेखि प्रण गर्दै नियमित रूपमा राष्ट्रिय झन्डा बोक्दै ७६ जिल्लामा देशको झन्डा चिनाउने अभियान चलाउँदैछु ।’

 

उनले भने, ‘सबैजना पार्टी र कार्यकर्ताका लागि मरिरहेका छन्, कोही आफ्नो जातीय अधिकारको कुरा गर्छन्, कोही पहिचानको लडाइ लडिरहेका छन् । सबैलाई सत्ता चाहिएको छ भने कसैलाई भत्ता चाहिएको छ । तर, देशका लागि कोही पनि अगाडि बढदैनन् ।’

 

देशको पहिचान मेटाउने कार्य भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले पहिचान गम्न नदिनका लागि पश्चिम महाकाली नगरपालिकाको सिमानामा खोला तरेर ७ नम्बर पिलरबाट राष्ट्रिय झन्डा बोकी अभियान सुरु गरेको बताए । अभियानकै क्रममा पूर्व मेचीको काँकडभिट्टा सिमानामा समेत पुगेको उनले जानकारी दिए । घाँटीमा २ वटा सिटी झुन्ड्याएका शिल्पकार प्रतिदिन ३० किलोमिटर पदयात्रा गरी ४५ दिनमा यो अभियान पूरा गर्ने लक्ष्य लिएका छन् ।

 

‘हिँडदाहिँडदै बाटो जाम भएका बेला वा कुनै ठाउँमा झैझगडा भइहेको देखेपछि सिटी बजाउँदा शंखघोषजस्तै काम गर्छ,’ उनी भन्छन्, ‘राष्ट्रिय झन्डा बोकेको देख्नेबित्तिकै जानलाई बाटो छाडिदिन्छन् र भइरहेको झगडा रोकिन्छ ।’  

 

पैदलयात्रा गर्नेक्रममा सुनसान बाटोमा पैदल हिँडिरहेको देखेपछि शिल्पकारलाई कतिपय मोटरसाइकल चालकले आफूसँगै सहरसम्म पु¥याइदिने गरेका छन् ।

 

मधेसीमूलको पहिचान झल्कने गरी शिल्पकारले आफ्नो टाउकोमा गम्छा बेरेका छन् । ‘अभियानक्रममा जुन जिल्लामा जान्छु त्यहीँको भेषभूषा धारण गर्ने गरेको छु । काठमाडौंमा हुँदा नेवारी पोसाक लगाउने गरेको छु ।’

 

सबै धर्म र जातजातिलाई माया गर्ने बताउने उनले दाउरासुरुवालसँगै राई, लिम्बु, शेर्पा, मुस्लिम, थारू, तामाङलगायत जातजाति र समुदाय गरी १०—१२ थरीका पोसाक लगाउने गरेका छन् । शिल्पकार भन्छन, ‘सबै जातजातिका भेषभूषा लगाए पनि हामी सबै नेपाली नै हो भने उद्देश्यले राष्ट्रिय झन्डाले पहिचान पाउनु आवश्यक छ ।’

०६२/०६३ को जनआन्दोलनपछि देशको झन्डालाई धेरैले बिर्सेको अनुभव सुनाउँदै उनले कतिपयले राष्ट्रिय झन्डा परिर्वतन गर्नुपर्छ भनी संसद्मा आवाज उठाएकाले झन्डाको गरिमा बुझाउन आफूले अभियान सुरु गरेको बताए ।

 

नेपालको राष्ट्रिय झन्डा चन्द्रसूर्य अंकित झन्डा भएको र चन्द्रसूर्य विश्वलाई नभई नहुने भएकाले विश्वसामु यसको महत्व अत्यधिक रहेको बताए ।

 

एक रुपैयाँ नलिई अभियानमा हिँडेका शिल्पकारलाई खानबस्नको फिकिर छैन । बाटोमा हिँडिरहेको देखेपछि उनलाई आफ्नै घरमा लगी कतिपयले खाना खुवाउने गरेका छन् । कतिपयले त उनको खल्तीमा रुपैयाँ हालिदिने गरेका छन् । उनले भने, ‘बाटोमा पाउने आर्थिक सहयोगबाट गरिबगुरुवाका लागि खर्च गर्ने गरेको छु ।’

 

अभियानक्रममा मेचीबाट पश्चिम आइरहँदा एकजनाले आफ्नो  खल्तीमा राखिदिएका दुई हजार नगद इटहरीको अपांग महासंघलाई दिएको उनले बताए । भक्तपुर घर भएका शिल्पकार हाल काठमाडौंको कालिमाटीमा डेरा गरी बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्