थुनुवा फरार प्रकरण : पाँच प्रहरीलाई विभागीय कारबाही, तीनविरुद्ध मुद्दा



विराटनगर : विराटनगरस्थित इलाका प्रहरी कार्यालयबाट हत्या अभियोगका थुनुवा फरार प्रकरणमा प्रहरी निरीक्षकसहित पाँच प्रहरीलाई विभागीय कारबाही गरिएको छ । तीन प्रहरीविरुद्ध मुद्दा चलाइएको छ । 

कार्यालयमा तत्कालीन प्रमुख रहेका प्रहरी निरीक्षक सन्तोष निरौला, नायब निरीक्षक डम्बर थापा, सहायक निरीक्षक पशुपति बस्नेत, जवान रिंकु मण्डल र अमित तामाङलाई विभागीय कारबाही गरिएको प्रहरी स्रोतले बतायो । 

थुनुवा फरार भएका दिन निरौला बिदामा थिए । ड्युटीमा रहेका प्रहरी हवल्दार जिरालाल रौनियार, प्रहरी जवान सुरेश राजवंशी र जगन्नाथ मास्केबिरुद्ध थुनुवा भगाएको अभियोगमा कारागार ऐन अन्तर्गत मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । 

गत कात्तिक ९ गते राति हिरासत कक्षको भेन्टिलेसनबाट हत्या आरोपमा हिरासतमा रहेका दुई थुनुवा फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्