अलैँचीमा समस्या देखिन थालेपछि इलामका किसान विकल्प खोज्दै 



इलाम  :  ‘खोल्सीको सुन’ उपनाम पाएको अलैँचीमा पछिल्लो समय रोग लागेपछि किसान यसको विकल्प खोज्न थालेका छन् ।  अलैँचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला बगाननै मासिन थालेपछि किसान अन्योलमा छन् । 

केही वर्षअघि पनि यस्तै सङ्क्रमण देखा परेपछि किसानले अलैँचीखेती नै छाडेका थिए । पुनः अलैँचीमा सुधार भएपछि आफ्नो करेसाबारीसमेत खाली नराखी किसानले अलैँैचीखेती गरेका थिए । पर्याप्त आम्दानी लिइरहेका बेला रोग देखिएपछि अलैँचीको विकल्प खोज्नु परेको माइजोगमाई गाउँपालिका प्याङका दीपक नेपालले बताए ।

 “अलैँचीको फूलमा मकैको घोगाजस्तो देखिने समस्या आएको छ । अलैँचीमा दाना लाग्नुपर्नेमा कुहिन थालेको छ ।” गत वर्ष दुई मन ९एक मनको ४० किलो० उत्पादन भएको अलैँची यस वर्ष त्यही दरमा मात्र उत्पादन हुने देखिएको नेपाल बताउछन । “त्यही दरमा उत्पादन बढेको भए यस वर्ष चार मन उत्पादन हुन्थ्यो,” उनले भने । 

सन्दकपुर गाउँपालिका सुलुबुङका किसान नेत्र रिजाल पनि जुर्जरे र डढुवा रोगको सङ्क्रमणले अलैँची मासिँदै गएको बताउछन् । तीन रोपनी जग्गामा गत वर्ष ६ मन उत्पादन भएको अलैँची यस वर्ष डेढ मनमात्र उत्पादन भएको उनको भनाइ छ । 

 

जिल्लाका सबै क्षेत्रमा अलैँचीमा रोग देखा परेको छ । कतिपय ठाउँमा पुरानै जुर्जुरे, स्याङ्लेजस्ता रोगले अलैँची मासिँदै छ भने केही ठाउँमा अलैँचीको गानो कुहिने समस्या छ । अलैँची रोपाइँमा नै समस्या भएकाले पर्याप्त उत्पादन दिन नसकेको र कम समयमै मासिने गरेको कृषिविज्ञ योगेन्द्रमान श्रेष्ठको भनाइ छ । 

 

उनका अनुसार पछिल्लो समय बारीमा अलैँची लगाउने गरेको र पानी बढी हुने हुनाले अलैँची मासिने गरेको छ । “अलैँचीलाई सुख्खा बारी आवश्यक हुन्छ, बारीमा पानी बढी भएकाले अहिले रोग लागेको हो,” श्रेष्ठले बताए, “अहिले गानो कुहिने समस्या देखिएको छ ।” 

 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार नेपालबाट विदेश निर्यात हुने वस्तुको सूचीमा अलैँची दोस्रो स्थानमा छ । नेपालबाट वर्षेनी रु साढे चार अर्बको अलैँची निर्यात भइरहेको तथ्याङ्क छ ।  केन्द्रका अनुसार सन् २०१७ मा नेपालबाट ७६ लाख ६० हजार ६७७ किलो अलैँची निकासी हुँदा रु चार अर्ब ५० करोड ६३ लाख आम्दानी भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्