माइनस नौ डिग्रीमा सुरक्षा गस्ती



हुम्ला : सदरमुकाम सिमकोटमा नेपाल प्रहरीको बजार गस्तीले रातिको समयमा तापक्रम माइनसमा पुग्दासमेत सुरक्षा दिँदै आएको छ । हुम्ला सदरमुकाम सिमकोटको तापक्रम माइनस नौ डिग्री छ । 

आफ्नो जिम्मेवारी पूरा गर्दै चिसो नभनेर बाक्ला कपडा, टोपी, हाते पञ्जा, गलबन्दी भिरेर पनि सिमकोट बजारमा अनैतिक घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दुई दुई घण्टाको अवधिमा सुरक्षा दिँदै आएको राति बजार गस्तीमा भेटिएका प्रहरी सहायक निरीक्षक भीमबहादुर बस्नेतले बताए । 

हिउँद सुरु भएसँगै प्रायः मानिस चिसो छल्न जिल्लाबाहिर जाने गरेकाले यो समयमा सिमकोटमा निकै कम स्थानीय छन् । सिमकोटका बजारमा सञ्चालित पसल होटल पनि चिसोको कारण ६ बजे नै बन्द हुने गर्छन् । 

तर नेपाल प्रहरीले कुनै घटना नहोस् भनेर रातिको समयमासमेत बजार गस्तीलाई निरन्तरता दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्