घरबाटै पानी बोकेर तिर्खा मेट्छन् विद्यार्थी



जाजरकोट : कक्षा १० सम्म पढाइ हुने भाग्योदय माध्यमिक विद्यालय समस्याका चाङमा पनि ‘भाग्यमानी’ नै छ । छेडागाड नगरपालिका–५ वडावनमा रहेकाे विद्यालयका अधिकांश विद्यार्थी पानी बोकेर विद्यालय जान बाध्य छन् । 

नामको मात्र भाग्योदय माविका आफूहरूलाई पढ्नेभन्दा पनि सास्ती बेहोर्नु परेको विद्यार्थीको दुखेसो छ । कक्षामा बसेर पढ्नेभन्दा पनि कहिले बिदा होला भन्ने आसमा बस्नुपर्ने बाध्यता रहेको कक्षा ८ की छात्रा कृष्ण शाहीले बताइन् । 

 

कृष्ण जस्तै कक्षा ३ मा अध्ययनरत विकास शाहीलाई पनि विद्यालय आउन मन लाग्दैन । “स्कुल आउन मन नै लाग्दैन”, उनले भने, “स्कुल बसेर पढ्ने वातावरण नै छैन ।” 

कृष्ण र विकास जस्तै सो माविमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमा आउन दिक्क लाग्छ । दिनभर विद्यालयमा दिक्दारीका साथ बस्नुपर्ने तिनको गुनासो छ । 

विद्यालय भवनको अभावमा १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई छाप्रामा पढाउने गरिएको छ । छाप्रोभित्र भुईँमा बसेर पढ्नुपर्दा साह्रै गाह्रो भएको छात्रा कमला सिंहले बताइन् ।  

“आवश्यक फर्निचरका अभावमा ४ देखि १० कक्षासम्मका विद्यार्थीले पनि भुईँमै बसेर पढ्नुपरेको छ”, कक्षा १० की भावना शाहीले गुनासो गरिन् ।  

घरबाटै पानी 

विद्यालयमा खानेपानी नहुँदा घरबाट बोतलमा बोकेर ल्याइएको पानी पिउन विद्यार्थी बाध्य छन् । तिर्खा लागेको बेला घरबाट ल्याइएको पानी सकिएमा विद्यालय नजिकैको घर जाने गरेको विद्यार्थी बताउँछन् । 

“विद्यालयमा कार्यालय सहयोगीले गाग्रीमा बोकेर ल्याएको पानी शिक्षक र अन्य कर्मचारीलाई समेत अपुग हुन्छ”, विद्यालयका प्रधानाध्यापक शान्त बहादुर शाहीले भने, “विद्यार्थीका लागि खानेपानीको व्यवस्था विद्यालयले गर्न सकेको छैन ।” 

विद्यालयका समस्या र अभावका बारेमा सम्बन्धित निकायमा बारम्बार माग गरिएको जानकारी दिँदै प्रअ शाहीले भने, “समाधानका लागि कहीँकतैबाट पनि पहल भएको छैन ।” 

पानीकै अभावमा सो विद्यालयमा शौचालयको पनि व्यवस्थापन हुन सकेको छैन । विद्यार्थी खुला ठाउँमा शौच गर्न बाध्य छन् । “शौच गर्नका लागि विद्यार्थी कि त खोल्साखोल्सी खोज्दै हिँड्छन्, कि त खेत वा बारीको कान्लाले छलिन्छन्”, प्रअ शाहीले गुनासो गरे । 

स्मरणीय छ, जाजरकोट खुला दिसामुक्त घोषणा भइसकेको जिल्ला हो । 

नगरपालिकाको योजना 

आवश्यक आधारभूत पूर्वाधारकै अभाव हुँदा विद्यालय सञ्चालन गर्न निकै कठिनाइ भएको छ । खानेपानी र भौतिक संरचनाको अभावका बीच चलेको विद्यालयमा गुणस्तरीय शिक्षाको कसरी आशा गर्न सकिन्छ भनी अभिभावक प्रश्न गर्छन् । 

छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले भने, “विद्यालयको समस्या समाधानका लागि यस आर्थिक वर्षदेखि क्रमागत रूपमा रकम विनियोजन गरी शैक्षिक सुधार थालिने छ ।”

यहाँका सबै विद्यालयमा उस्तै समस्या भए पनि प्राथमिकता निर्धारण गरी काम गर्नुपर्ने अवस्था रहेको नगर प्रमुख महताराको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्