‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ, संकटा दोस्रो



काठमाडौं : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मर्स्याङ्दी क्लबलले लगातार १२ औँ जित निकालेको छ । 

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै मनाङले लगातार १२औँ जित निकालेको हो । लिगको अन्तिम चरणमा मनाङले अब ब्रिगेड ब्वाइज क्लबसँग खेल्न बाँकी छ । 

मनाङको अपराजित यात्रामा आफिज ओलावाले र विशाल राईले एक एक गोल गरे । हिमालयन शेर्पाका विश्वास श्रेष्ठले एक गोल गरेका थिए । 

खेलको ३६औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई शुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५औँ मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काएका थिए । 

पहिलो हाफ एक÷एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले थप एक गोल गर्न सक्यो । खेलको ६३ औँ मिनेटमा विशालले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । जितसँगै मनाङले १२ खेलबाट ३६ अङ्क जोडेको छ । 

मनाङले लिगको उपाधि भने दुई खेल अगावै जितिसकेको छ । पराजित हिमालयन शेर्पा १२ खेलबाट १७ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । 

आजै भएको अर्को खेलमा थ्रीस्टार क्लबलाई २–१ गोलले हराउँदै संकटा क्लबले दोस्रो स्थान पक्का गरेको छ । थ्रीस्टारले भने तेस्रो बन्न पनि अन्तिम खेलमा जित हात पार्नु पर्ने भएको छ।

एन्फा कम्प्लेक्स मैदान भएको खेलमा थ्रीस्टारले पहिले अग्रता लिएको थियो । थ्रीस्टारका लागि रञ्जन विष्टले गोल गरेका थिए । पहिलो हाफ सकिन २ मिनेट बाँकी छदा संकटाले बराबरी गोल फर्कायो । संकटाका लागि ४३ मिनेटमा अमित तामाङले गोल गरेका थिए ।

६४ मिनेटमा संकटाका अमित तामाङले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए ।

जितसँगै दोस्रो स्थानको संकटाले २८ अंक जोडेको छ । तेस्रो स्थानको थ्रीस्टार २३ अंक मात्र छ । चौथो स्थानको त्रिभुवन आर्मी क्लबको २२ अंक छ ।

यसैबीच आजदेखि लिगअन्तर्गत १२औँ चरणका खेल सकिएका छन् । अब लिगमा एक चरणको मात्र खेल बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्