प्रदेश २ मा मुख्यमन्त्री फेरिँदैन : फोरम सुप्रिमो यादव



राजविराज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ सरकार परिवर्तन हुने र मुख्यमन्त्री हेरफेर हुने विषय हल्लामात्रै भएको बताएका छन् । उनले सीमित साधनस्रोत र परिस्थितिका आधारमा प्रदेश सरकारले राम्रै काम गरिरहेको प्रतिक्रिया दिए । 

फोरम र राजपा सत्ता गठबन्धन भत्केर फोरम–नेकपा गठब्नधन बन्ने तथा प्रदेश २ सरकारको मुखिया परिवर्तन हुने खबर केही अनलाइन समाचारमाध्यमले प्रकाशन गरेका बेला फोरम सुप्रिमो यादवको यस्तो प्रक्रिया आएको हो । 

उनले प्रदेश २ सरकारसँग जनअपेक्षा अलिक बढी नै भएकाले केही असन्तुष्टि देखिएको बताए । 

अध्यक्ष यादवले संविधान संशोधनको अजेन्डा अझै यथावत रहेको भन्दै जबरजस्ती संविधान जारी गरेका पक्षले पनि संशोधन नगरी हुन्न भन्ने महसुस गर्न थालेको बताए । उनले भने, ‘यसले संशोधनको उचित वातावरण बन्दै गएको छ ।’

 

 उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका यादवले  शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका संविधानप्रदत्त मौलिक हक उपभोगको वातावरण बन्दै गएको बताए ।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुन लागेको बृहत् स्वास्थ्य शिविरको तयारीका लागि बुधबार गृहजिल्ला सप्तरी आएका उनले भने ‘मौलिक हक उपभोग गराउन १६ वटा ऐन बनेका छन । मुलुक अब त्यही दिशामा अघि बढेको छ ।’

 

फागुन १ गतेदेखि सप्तरी सदरमुकाम राजविराजमा बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य मन्त्रालयको सहयोगमा नेपाली सेनाले शिविर आयोजना गर्न लागेको हो । 

 

प्रतिक्रिया दिनुहोस्