प्रादेशिक राजधानी जनकपुरमा सुरक्षा व्यवस्था कठ्यांग्रिएको मध्यरात



काठमाडौं : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ । सघन बसोबास, उद्योग व्यवसायको केन्द्र र पर्यटकीय नगरीको सुरक्षा व्यवस्था प्रादेशिक राजधानी भएसँगै थप मजबुत भएको विश्वास गरिएको छ । तर, वास्तविकता भने बेग्लै छ । 

भारतको सीमासँग केही किलोमिटर उत्तरमा रहेको यो सहर मध्यरात हुनुभन्दा केही घन्टा पहिले नै निदाउन थाल्छ । चहलपहलमा कमी आउँछ । व्यक्ति र सवारीसाधनको आवागमन पनि क्रमिक रूपमा निस्तेज हुँदै जान्छ । तर, सबैभन्दा उदेकलाग्दो दृश्य भने समय घर्किँदै जाँदा सुरक्षा संयन्त्रको उपस्थिति पातलिँदै गएको देखिनु हो । 

द नेपालटपका संवाददाता घनश्याम मिश्र आफ्ना सहकर्मी अजीत र अनुपका साथ बुधबार राति दस बजे जनकपुरधामका विभिन्न नाका अवलोकन गर्छन् । र, द नेपालटपको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्छन् । जहाँ उनलाई सुरक्षाकर्मीको उपस्थिति शून्य प्रायः लाग्छ । उनी आफ्नो यात्रा सुरु गर्छन्, जनकपुरको दक्षिणी भाग हनुमानगरबाट । 

जनकपुरलाई भारतीय सीमा जटहीसँग जोड्ने यो सडक सीमापार अपराधको दृष्टिले पनि निकै जोखिमपूर्ण मानिन्छ । सहर वा आसपास कुनै आपराधिक घटना भयो भने यस सडकमा तत्काल नाकाबन्दी गर्नुपर्ने हुन्छ । यो बाटो भएर जटहीमात्र होइन, दक्षिणी भेगका खुला सीमा भएर समेत अवैध आवागमन हुने गर्छ ।

 

लागूऔषध, हातहतियारलगायत अवैध सामानको ओसारपसार हुने नाकाका रूपमा चिनिने यो बाटो भन्सार छली गरी सरसामान चोरीपैठारी गर्नेहरूका लागि सुरक्षित र सहज मानिन्छ । तर, बाटाेमा कतै सुरक्षाकर्मी देखिँदैनन् । संवाददाता जब सडकमा सुरक्षा अवस्थाबारे वर्णण गर्न थाल्छन् अनि अचानक प्रहरीको एउटा भ्यान देखा पर्छ । 

त्यहाँबाट मिश्रसहितको टोली सहरको अलिक वर श्यामचोकमा आइपुग्छ । जहाँ अस्थायी प्रहरी कार्यालय छ । सतर्कतापूर्वक हेर्दा चौकीभित्र एकजना प्रहरी सेन्ट्री बसेका देखिन्छन् ।

 

तर, पश्चिम जनकपुर विमानस्थलतर्फ जाने र पूर्वीदक्षिणी छेउ भएर रामपुर हुँदै भारतीय सीमातर्फ सोझिने यो ठाउँमा प्रहरी टोली देखिँदैन । संवाददातालाई पछ्याउने गरी आएको एउटा भ्यानको आवागमन देखिन्छ । 

यसपछि द नेपालटप टोली मुरलीचोक हुँदै कदमचोकतर्फ लाग्छ । मुरलीचोकभन्दा करिब ५० मिटर उत्तरमा संघीय प्रहरी कार्यालय छ भने त्यसको करिब दुईतीन सय मिटर उत्तरपूर्वमा जिल्ला प्रहरी कार्यालय धनुषा छ । कदमचोकबाट पनि जिल्ला प्रहरीको दुरी लगभग यति नै छ । तर मुरलीचोकदेखि कदमचोकसम्म प्रहरी सुरक्षाकर्मी कतै भेटिँदैनन् । 

हाम्रो टोली कदमचोकबाट महुवा कपिलेश्वरको बाटो अर्थात् पूर्वतर्फ लाग्छ । केही सय मिटर पूर्वमा बसपार्क छ । रणनीतिक रूपमा यो सडकको आफ्नै महत्व छ । तस्करीलगायतका अपराध रोक्न नै यो सडक लक्षित गरी केही वर्षअघि प्रहरी चौकी स्थापना गरिएको थियो ।

 

कपिलेश्वरमा रहेको प्रहरी चौकीको अहिले आफ्नै भवन छ । यहाँ प्रहरी इन्चार्ज बन्नका लागि कनिष्ठ प्रहरी अधिकारीहरूका बीच तँछाडमछाड हुने गरेका थुप्रा किस्सा सुन्न पाइन्छन् । 

 

जिल्लाको पूर्वीदक्षिणी भेगका धेरैवटा ठाउँ जोड्ने यो सडकमा भने छजना सुरक्षाकर्मीले पहरा दिइरहेको दृश्य देखिन्छ । प्रहरी सहायक निरीक्षकको कमान्डमा सुरक्षा गश्तीमा रहेको यो टोलीको निर्धारित समय १२ बजेसम्मका लागि हो । त्यसपछि अर्को टोलीले पालोपहरा दिने टोलीमा संलग्न सुरक्षाकर्मी बताउँछन् । 

यसपछि हाम्रो गन्तव्य जिल्लाको पूर्वी भाग र अझै कुनैकुना पूर्वोत्तर भागसमेतलाई जोड्ने पुल्चोकतर्फ हुन्छ । जनकपुरमा कुनै पनि आपराधिक घटना हुँदा यो नाकामा सबैभन्दा पहिले कडाइ गरिन्छ ।

 

माओवादी द्वन्द्वकालमा समेत धेरै नै संवेदनशील मानिएको यो नाकामा प्रहरी निगरानी तुलनात्मक रूपमा बढी नै हुने गर्थ्याे । तत्कालीन माओवादीको आधारक्षेत्र र कमलाछेउका बस्ती पनि यसै नाका भएर पुगिन्छ । जनसांख्यिक दृष्टिले जिल्लाका बढी मानिसको बसोबास भएको क्षेत्र पनि यसै नाकापारि हो । यहाँ पनि प्रहरी सुरक्षाकर्मीको छजनाको टोली तैनाथ देखिन्छ ।   

अबको हाम्रो पालो मिल्सएरिया नजिक बेंगाशिवपुरको बाटो हो । यो बाटोमा रहेको मोनास्टिक स्कुल वरपर कतै पनि सुरक्षाकर्मी देखिँदैनन् । द्वन्द्वकालका चर्चित ठाउँहरू मिथिलेश्वर मौवाही, तारापट्टी सिर्सिया, धनुषाधाम, सबैला, रघुनाथपुर, बरमझिया जाने यो बाटो सुनसान छ । 

 

लगत्तै हामी पूर्वपश्चिम रमजमार्गसँग सीधा जोडिने जनकपुर–ढल्केवर मार्गको पिराडीचोक पुग्यौं । पिराडीचोक चाैबाटो हो । यहाँबाट उत्तर ढल्केवर, पूर्व पुल्चोक, पश्चिम कुर्था र दक्षिण जिरोमाइल पुग्न सकिन्छ ।

 

एक किसिमले जनकपुरको परिक्रमा सडकलाई छोएको यो सहरको प्रवेशद्वार पनि हो । यहाँबाट मुस्किलले डेढ किलोमिटरको दूरीमा वडा प्रहरी कार्यालय मुजेलिया छ । तर, यहाँ सुरक्षाकर्मीको अत्तोपत्तो छैन । 

यसपछि हामी पुग्यौं रामानन्दचोक र यो चोकभन्दा करिब दुई सय मिटर पश्चिम आँखा अस्पताल अगाडि । जिल्लाकै कुर्था हुँदै महोत्तरीको लोहारपट्टी जाने यो बाटो हिजोआज महोत्तरीको उत्तरदक्षिणी भेगमा पुगिने छोटो बाटोको रूपमा प्रयोग हुने गरेको छ ।

 

यो बाटो पनि सुनसान । कहीँकतै देखिएनन् नीलो बर्दीधारी । यहाँ हामी, हाम्रो क्यामरा र सुरक्षाका बारेमा बोलिएका आवाज मात्र थिए । हामीलाई क्यामराले धोका खाएकाले निकै रणनीतिक ठाउँ रामानन्दचोकमा प्रहरी नदेखिएकाे जस्ताे लाग्याे । अनि फेरि हामी रामानन्दचोकमा आयौं । तर, अवस्था पहिलेझैं । यहाँ सुरक्षाकर्मी थिएनन् । यहाँबाट करिब एक किलोमिटरको दूरीमा जनकपुरको पुरानो जानकी प्रहरी चौकी छ । 

अब हामी पुग्यौं यो चोकबाट झन्डै एक किलोमिटरको दूरीमा जनकपुर–ढल्केवर सडकखण्डसँगै जोडिएको बसबिट्टी नाकामा । महोत्तरीको भ्रमपुरा जाने यो बाटोमा पनि अवस्था फरक थिएन । नाका सुरक्षाकर्मीविहीन थियो । 

यसपछि हामी सोझै यहाँबाट केही मिटर दक्षिणमा रहेको जिरोमाइल हुँदै जनकपुर–भिठ्ठामोड सडकतर्फ लाग्यौं । जिरोमाइलमा प्रहरीका दुईवटा एकाइ छन् । प्रहरी चौकी र जिल्ला ट्राफिक प्रहरी कार्यालय ।

 

माओवादी द्वन्द्वताका यहाँ सुरक्षाजाँचका लागि ट्राफिक प्रहरीसमेत परिचालन हुने विगत छ । तर, यहाँ दुवै एकाइमध्येका कोही पनि प्रहरी देखिएनन् । अनि हामी पुग्यौं एक किलोमिटर दक्षिण नपुग्दै आउने ठाउँ–लादोबेला पुल । महोत्तरी सदरमुकाम जलेश्वर, सीमावर्ती क्षेत्र भिठ्ठामोड र मटिहानी पुगिने यो बाटोमा सुरक्षाकर्मी देखिएनन् । 

जनकपुरधाममा सुरक्षा व्यवस्था कठ्यांग्रिएको यस्तो दृश्य यसअघि कहिल्यै नदेखिएको संवाददाता मिश्रको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्