राष्ट्रपति भण्डारीले हेलिकप्टरबाटै अवलोकन गरिन् कोदो, मकै र गहुँ खेती



बिर्तामोड : बुधबार झापा आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको कृषि परियोजनालाई हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी छन् । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एक सय बिघा जमिनमा सञ्चालित नमुना कृषि परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ ।

 

राष्ट्रपति भण्डारीले बुधबार दिउसो उक्त परियोजनाको हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी हुन् । शिवसताक्षी नगरपालिका–४ स्थित चन्द्रडाँगी कृषि फार्मको भने उनले स्थलगत अवलोकन गरिन् । कृषि फार्म ८४ बिघा क्षेत्रफलमा फैलिएको छ । फार्मलाई कृषि विश्वविद्यालय बनाउने पहल भइरहेका बेला राष्ट्रपति भण्डारीले अवलोकन गरेकी हुन् ।

 

कृषि अवलोकन भ्रमणपछि राष्ट्रपति भण्डारीले कृषि फार्म र परियोजनालाई सरकारले सुधार गर्दै कृषकलाई सेवा दिनेमा आफू आशावादी रहेको बताइन् । फार्मको अवलोकनपछि चन्द्रडाँगीमा आयोजित औपचारिक कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएकी हुन् । संघीय सरकारले हेर्दैआएका कृषि फार्म र परियोजनालाई प्रदेश र स्थानीय तहमा जिम्मा दिन सके अझै राम्रो काम हुने उनको तर्क छ ।

 

‘देश संघियतामा गएपछि स्थानीय तह, नागरिक र प्रदेशले अधिकार खोज्नु स्वभाविक हो, पहिले केन्द्रीय सरकारले हेर्दै आएका परियोजना र फार्म सञ्चालनको अधिकार स्थानीय तहले माग गर्नु स्वभाविक हो,’ उनले भनिन् । राजनीतिक संक्रमणकाल टुङ्गिएर देश स्थिर राजनीतिमा प्रवेश गरेको भन्दै संघीय नेपालमा शक्ति बाँडफाड र अधिकारलाई मिलाउँदै जानेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।

 

स्कुल बिदा गरेरै स्वागतमा

राष्ट्रपति कृषि अवलोकनमा आउने भएपछि सो क्षेत्रका ६ वटा स्कुल बिदा नै गरेर विद्यार्थी र शिक्षक कार्यक्रमस्थलमा आएका थिए । राष्ट्रपतिको स्वागतका लागि उनीहरु कार्यक्रमस्थलमा पुगेका हुन् । राष्ट्रपति भण्डारी दुई स्थानको अवलोकन गरी बुधबारै काठमाडौं फर्किएकी अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्