सरकारी कार्यालयमा एउटै नम्बरप्लेटका तीन गाडी



बारा: एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला ।

 

बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै अनौठो दृश्य देखियो । यो कानुनविपरीतको काम गरेका छन्, राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले । उनीहरूले चोरीका तीन गाडीलाई यसरी एउटै नम्बर राखेर प्रयोग गरिरहेका हुन् ।

 

एक वर्षअघि अवैध चाँदीसहित बा १२ च ६७९० नम्बरको सुजुकी वाग्नर कार बरामद गरिएको थियो । त्यही नम्बरलाई राजस्व अनुसन्धानका कर्मचारीले अन्य दुई गाडीमा पनि दुरुपयोग गरेका हुन् । कार्यालय प्रमुख राजनकुमार बिसीकै निर्देशनमा सिमराको एक आर्ट्स हाउसमा एकसाताअघि दुवै गाडीमा नम्बरप्लेट राखिएको राजस्व अनुसन्धान कार्यालय स्रोतले बतायो ।

 

प्रहरीबाटै बरामद भएको थियो कार

राजश्वका कर्मचारीले एउटै नम्बर प्रयोग गरेर चढ्ने गरेको तीनवटा कारमध्ये एउटा गत १३ भदौमा प्रहरीबाटै बरामद गरिएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक बुद्धि चौधरीले चलाएर बीरगञ्जबाट चितवनतर्फ लगिरहेका बेला राजश्व अनुसन्धान कार्यालय, पथलैयाको चेकपोस्टबाट बरामद भएको थियो ।

 

युपी १३ बीबी ७२६० नम्बरको सुकुकी ब्रिजा कार राजस्वले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर, राजश्व अनुसन्धानका कर्मचारीले नियमानुसार लिलाम नगरी जथाभावी नम्बर राखेर चढिरहेका छन् । बुधबार बिहान र अपराह्न फरक–फरक नम्बर प्रयोग गरिएको पनि सोही ब्रिजा कारमा हो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाउने तयारी

फरक–फरक नम्बर प्रयोग गरि राजश्व कार्यालयका कर्मचारीले चढ्ने गरेको सुविधाजनक सुजुकी व्रिजा र सुजुकी इरिट्जा कार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीका लागि पठाउने तयारी गरिएको छ । केही दिनमै काठमाडौं पठाउन लागिएको स्रोतले जनाएको छ ।

 

दुई गाडी सरकारीकरण गर्ने प्रक्रिया पुरा भएको राजश्व अनुसन्धान कार्यालय प्रमुख बिसीले बताए । ‘गाडी नेपाल सरकारको नाममा आइसकेको छ, अब लिलाम गर्ने वा हस्तान्तरण गर्ने भन्ने निर्णय हुन बाँकी छ,’ उनले भने ।

 

पाँच घन्टामै नम्बर परिवर्तन

बुधबार बिहान ११:३० बजे राजस्व अनुसन्धान परिसरमा भेटिएका एउटै नम्बरका तीनवटा गाडीका विषयमा सोध्दा कार्यालय प्रमुख बिसीले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । तर, अपराह्न ४ बजे भने नम्बरप्लेट परिवर्तन गरिएका थिए ।

 

बिहान बा १२ च ६७९० नम्बरप्लेट रहेको एउटा गाडीमा अपराह्न ना २ च ९५१० नम्बरको प्लेट राखिएको छ । यातायात व्यवस्था कार्यालय वीरगन्जको रेकर्डअनुसार ना २ च ९५१० नम्बरमा ‘महिन्द्रा कम्पनीको डबल क्याप पिकअप’ गाडी दर्ता छ ।

 

कार्यालय प्रमुख बिसीले उक्त नम्बर कहाँबाट लेखियो भन्ने आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘मैले लेख्या त होइन, अब कार्यालयका साथीहरूले किन नम्बर चेन्ज गरेछन् म बुझछु । आज यो समाचार लेखेर भोलि फलोअपमा आउनुस् अनि भनुँला’ उनले भने । त्यस्तै, अर्को गाडीको नम्बरप्लेट हटाइएको नयाँपत्रिकामा खवर छ ।  

प्रतिक्रिया दिनुहोस्