हाम्रा दुईवटा हिमाल हराएपछि



पुण्यप्रसाद ओली, पूर्व महानिर्देशक नापी विभाग


हामीसँग पानीका स्रोत र मुहान प्रशस्तै छन् । हिमाल पनि उत्तिकै छ । तर, नक्शाबाट कहिले पानी बेपत्ता, कहिले हिमाल बेपत्ता भैरहने !

नेपाललाई पाँच विकासक्षेत्र र १४ अञ्चलमा भौगोलिक वर्गीकरण गरिए पनि त्यसलाई आधिकारिक रूपमा चिनाउने नक्शा थिएन । त्यसैले, २०३१ सालपछि विकास क्षेत्रहरूको नक्शांकन गर्ने सरकारको कार्यक्रम आयो । त्यसबेला म स्थलरूप नापीको प्रमुख थिएँ । अहिले भारतीय नक्शामा उल्लेख भएको भनिएको लिम्पियाधुराको भागलाई त्यतिबेलैको नक्शामा समेट्ने विचार गरिएको हो । तर, नक्शामा त्यो भूभाग समेटेर छापिएन ।

किनभने, भारतले सहमति गरेजति राख्ने, बाँकी पछि जे हुन्छ, त्यही गर्ने भन्ने निर्देशन आयो । कालापानी भारतले त्यहीबेला नेपालको हो भनेर स्वीकार गरेको हो । त्यसैले त्यो नक्शामा प¥यो । सरकारले नै भन्यो कि, विवाद भएका कुरा अहिले नराखौँ, निर्विवाद कुरा मात्र नक्शामा देखाऊँ । त्यसपछिका दिनमा यो विषयलाई गम्भीरताका साथ लिइएन ।

०३२ सालदेखि नै वास्ता नगरिँदै आएको विषय हो यो । बीच–बीचमा भारतसँग कुरा हुने, समाधान नहुने क्रम चलिरह्यो । नेपाल र भारतबीचका सबै सिमाना खुला भइसकेको थियो । त्यसक्रममा दशगजामा पिलर लगाउने, भूभाग छुट्टयाउनेजस्ता काम पनि भए । तर, लिम्पियाधुरा, लिपुलेकजस्ता भूभागलाई नक्शाबाट छोड्ने काम भइरह्यो । यसो गर्दागर्दै, अर्थात् समयमा तदारुकता नदेखाएको फलस्वरूप अहिलेसम्म हाम्रोतिरकै तीन सय ६० वर्ग किलोमीटर भूभाग हाम्रो नक्शामा समेटिन बाँकी छ ।

नक्शा बनाउने प्रचलन पहिला पनि थियो । तर, अहिलेको जस्तो गुगल म्यापको शैलीमा व्यवस्थित थिएन । नक्शांकनअघि गर्नुपर्ने चित्रांकन र त्यस आधारमा गर्नुपर्ने रेखांकनमा त्रुटी हुनसक्थे । हाम्रो देशको पुरानो नक्शामा पनि त्यस्ता केही त्रुटी नभएका हैनन् । तर, प्रविधिको विकाससँगै त्रुटीहरू सच्चिएका छन् ।

पहिला–पहिला नक्शा बनाउँदा एकातिर पानी बग्ने र नक्शामा अर्कैतिर बगेको देखिनेसम्म हुन्थ्यो । चीनसँगको हाम्रो सीमाक्षेत्रमा सर्वे गर्दा लिमीदेखि माथिको लार्चासहित हुम्लाको ठूलो भूभाग चीनतिरै देखिने समस्या आयो । मुस्ताङमा पनि त्यस्तै समस्या थियो । अर्थात्, भूमि हाम्रो हो, तर नक्शामा देखिँदैन । रसुवाको लाङटाङ हिमाल नै बेपत्ता थियो ।

लाङटाङसहितका दुईवटा हिमाललाई चीनले आफ्नो दावी गर्ने, हामीले पनि हाम्रै भन्ने । यसरी लामो समय लाङटाङलाई न हामी, न चीन– कसैको पनि नक्शामा राखिएन । लामो समय लाङटाङ नक्शाभित्र नअटेर बेवारिसे नै भयो । पछि सरकारले सहमति गरेपछि र चीनले लाङटाङ नेपालकै हो भनी स्वीकारेपछि हामीले त्यसलाई नक्शामा राख्यौँ । सुस्ता र कालापानीलाई समेट्न प्राविधिक कारणले नसकिएको हो ।

ती नदी साझा हुन्, पानीको उपभोग आधा–आधा गरिने सहमति हो । तर, भारतले आफ्नो नक्शामा पनि हाल्ने कारण समस्या रहँदै आएको छ ।

यसरी नक्शामा त्रुटी हुनुको कारण हुन्थ्यो, अहिलेको जस्तो पावरफुल रिजोल्युशन नभएका स्याटेलाइट तस्बिर । त्यसबेला एरियल फोटोग्राफीको समय थियो । सन् १९७२ देखि अमेरिकाले स्याटेलाइट इमेज ल्याएपछि नक्शांकनको काम केही सहज भयो ।

तर, अहिलेका स्याटेलाइट इमेजजत्तिको रिजोल्युशन नआउने कारण कहिले खोला उल्टो देखिने वा देख्दै नदेखिने, डाँडाकाँडा हराउने, हुँदाहुँदा हिमालै हराइदिएर आपत पर्नेजस्ता घटना हुन्थे ।

प्रतिक्रिया दिनुहोस्