आधा नपढी जाँच दिन्छन् गरिबका छोराछोरी



काठमाडौं : कालिकोट पाखाका सन्तोष मल्ल सुर्खेत झरेको एक महिना भयो । कक्षा १० मा पढ्ने उनी एसईई तयारी गर्न यहाँ आएका हुन् । परीक्षामा राम्रो अंक ल्याउने उनको सपना छ। घरको आर्थिक अवस्था खासै गतिलो छैन ।

तर, ऋणसापटी गरेर उनी आएका छन् । ‘कालिकोटमा ट्युसन पढ्ने ठाउँ छैन,’ सन्तोष भन्छन्, ‘जति खर्च भएपनि राम्रो नम्बर ल्याउन त ट्युसन नपढी सुखै छैन ।’

एसईई परीक्षा आउन दुई महिनामात्रै बाँकी छ । सुर्खेतमा मात्र होइन, कर्णाली प्रदेशका सहरबजारमा खचाखच विद्यार्थी छन् । ट्युसन नपढी राम्रो नतिजा ल्याउन सम्भव नहुने भएकाले उनीहरु सहर पसेका हुन् ।

गाउँका अधिकांश विद्यार्थीको आर्थिक अवस्था कमजोर छ । तर सहरको ट्युसन सेन्टर धाउनु उनीहरुका लागि अनिवार्य नै भएको छ । ट्युसनको लहर देखासिकीजस्तो लाग्न सक्छ ।

तर, यो ग्रामीण क्षेत्रका विद्यार्थीको बाध्यता हो । ‘स्कुलमा राम्रोसँग पढाइ नै हुँदैन । पढाइ नियमित नहुँदा कोर्स सकिँदैन,’ सन्तोष भन्छन्,। उनले जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी ट्युसनका लागि झरेको मल्लले बताए ।

कर्णालीका लगभग सबै सामुदायिक स्कुलमा पाठ्यक्रम पूरा पढाइँदैन । त्यसैले विद्यार्थी ट्युसनमा महंगो शुल्क तिर्न बाध्य छन्। डोल्पाकी देविका रोकाया पनि एक महिनादेखि सदरमुकाम दुनैमा बसेर ट्युसन पढिरहेकी छन् ।

‘हुने खानेहरु सुर्खेत, नेपालगन्ज गएर पढ्छन्, हामी यहीँ सदरमुकाममै डेरा लिएर बस्छाैँ,’ उनले भनिन्, ‘सरहरुले कहिल्यै पूरा किताब पढाउनुहुन्न । बचेको कोर्स ट्युसनमा पढौंला भन्नुहुन्छ ।’

कर्णालीका सबै विद्यार्थीका लागि तीन विषयको अतिरिक्त कक्षा अनिवार्य नै हो । सुर्खेत सदरमुकामभित्रका विद्यालयमै अतिरिक्त कक्षा संचालन भएपनि ग्रामीण क्षेत्र र अन्य जिल्लामा ट्युसन कक्षा लिएर विद्यार्थीले पढाइको कमी पूरा गर्छन् । आजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्