कान फुट्ने गरी विद्यार्थी कुट्ने प्रधानाध्यापक रिहाइको माग गर्दै ४४ विद्यालय बन्द



चितवन । कान फुट्ने गरी विद्यार्थी कुट्ने प्रधानाध्यापक रिहाइको माग गर्दै कांग्रेसनिकट नेपाल शिक्षक संघले नवलपुरको बुलिङटार गाउँपालिकाका ४४ विद्यालय बन्द गराएको छ ।

 

कक्षा १० मा अध्ययनरत विद्यार्थी खुमान सार्कीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका बुलिङटार गाउँपालिकाका–६ को शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठ रिहाइको माग गर्दै नेपाल शिक्षक संघले ३ दिनदेखि विद्यालय बन्द गराएको हो ।

नवलपुर प्रहरीले पीडितको उजुरीका आधारमा असोज ११ गते प्रधानाध्यापक श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । कुटपिट एवं अंगभंग महलअन्तर्गत उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइरहेका बेला नेपाल शिक्षक संघले भने पक्राउको विरोध गर्दै ३ दिनदेखि विद्यालयको पठनपाठन ठप्प पारेको छ ।

 

नेपाल शिक्षक महासंघका अध्यक्ष मोहनलाल कलवार र नेपाल शिक्षक संघ बुलिङटारका अध्यक्ष ऋषिराम कँडेलले असोज १८ गतेभित्र प्रअ श्रेष्ठको रिहाई नभए कडाभन्दा कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । उनीहरुले पत्रकार सम्मेलन नै गरेर विद्यार्थी कुट्ने प्रअलाई रिहाइ गर्न दबाव दिएका हुन् । असोज १८ गतेसम्म रिहा नभए जिल्लाभरका विद्यालय बन्द गर्ने चेतावनी उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्