काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध



काठमाडौं: काठमाडौंका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । प्रहरीले बेवारिसे वृद्धवृद्धालाई वृद्धाश्रममा पु-याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो ।

 

महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई वृद्धाश्रममा राखिनेछ । भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याई कानुनअनुसार कारबाही गरिनेछ । काठमाडौं परिसर प्रमुख एसएसपी वसन्त लामाले बेवारिसे वृद्धवृद्धालाई कालिमाटीस्थित आमाघर र गोंगबुको हिमालयन आश्रममा राखिने बताए ।

 

‘सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको दैनिकजसो शव भेटियो । जाडोले उनीहरूको मृत्यु भएको देखियो । उनीहरूलाई वृद्धाश्रममा राख्न लागिएको हो,’ लामाले भने । उनका अनुसार भिखारीको हकमा भने कानुनअनुसार कारबाही चलाइनेछ ।

 

स्वदेशीलाई पक्राउ गरी सम्बन्धित व्यक्तिको जिम्मा लगाइने, अटेर गर्नेलाई कानुनअनुसार कारबाही गरिने लामाले बताए । विदेशीलाई भने पक्राउ गरी सम्बन्धित मुलुकको बोर्डरमा लगेर छाडिने उनको भनाइ छ ।

 

कति छन् बेवारिसे वृद्धवृद्धा र भिखारी ?

महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौंमा अहिले झन्डै दुई सयको हाराहारीमा बेवारिसे वृद्धवृद्धा छन् । त्यसमध्ये एक सय ८८ को पहिचान भइसकेको छ । पहिलो चरणमा प्रहरीले सात वृद्धवृद्धालाई पक्राउ गरी आश्रममा लगिसकेको छ । उनीहरूका लागि आवश्यक खाद्यसामग्री, लत्ताकपडा, साबुन, ब्रसलगायतका आवश्यकीय सामग्री लायन्स क्लबको सहकार्यमा व्यवस्थापन भइसकेको छ ।

 

‘वृद्धवृद्धाको रोजीरोटीका लागि सबै व्यवस्था भइसकेको छ । महिना दिनसम्म पुग्ने रासन र आवश्यक सामग्री तयार छ । सम्बन्धित आश्रमलाई केही दिनमै हस्तान्तरण गर्छौं,’ परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने ।

 

प्रहरीले भिखारीको तथ्यांक पनि संकलन गर्न सुरु गरेको छ । काठमाडौंमा स्वदेशी र विदेशी गरी दुई सयकै हाराहारीमा भिखारी रहेको अनुमान छ । भिखारीलाई भने व्यवस्थापन नभएर कारबाही नै हुने बोगटीले बताएका नयाँपत्रिकामा खवर छ ।

 

सडक बालबालिकालाई पनि उठाइने

वृद्धवृद्धा र भिखारीपछि बेवारिसे अवस्थाका सडक बालबालिकलाई पनि सडकपेटीबाट उठाउने प्रहरी योजना छ । उनीहरूको तथ्यांक संकलन सुरु गरिसकेको छ । ठेगाना पत्ता लगाई उनीहरूलाई अभिभावकको जिम्मा लगाउने र पहिचान नहुनेको हकमा भने आश्रमलाई जिम्मा दिइने प्रहरीले बतायो ।

 

 

‘वृद्धवृद्धा र भिखारीपछि बेवारिसे अवस्थाका सडक बालबालिकालाई पनि पुनस्र्थापना गरिनेछ । ठेगाना पत्ता लगाएर अभिभावकको जिम्मा लगाइनेछ । ठेगाना नभएकालाई भने आश्रममा राखिनेछ,’ डिएसपी बोगटीले भने, ‘उनीहरूको रोजीरोटी र शिक्षादीक्षाका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइनेछ ।’

प्रतिक्रिया दिनुहोस्