कम्प्युटर एशोसिएशन नेपालको क्यान इन्फोटेक २०२० फागुन पहिलो सातादेखि



काटमाडौं : कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २०२० आगामी फागुन पहिलो सातादेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । आगामी फागुन २ देखि ७ गतेसम्म ६ दिन भृकुटीमण्डपमा नेपालको सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको आयोजना हुने भएको छ । यो महासंघको २६ औं संस्करण हो ।

यसैगरी क्यान महासंघले सन् २०२० मा क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिदैछ । प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कणार्ली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरिय तथा प्रदेश ५ को नेपालगञ्जमा जिल्ला स्तरिय प्रदर्शनीको आयोजना गरिने छ ।
२६ औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शीर्ष प्रायोजन प्रभु पे, एसोसिएट प्रायोजकमा वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेड, अफिसियल इन्सोरेन्स–प्रभु इन्सोरेन्स तथा टिकट पार्टनरमा इ–पेले प्रायोजन गरेको छ । सिल्भरप्रायोजन लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले गरेको छ भने एशोसिएट, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसियल प्रायोजन पनि खुला गरिएको छ ।

प्रायोजकहरुले स्तरअनुसारको स्टल तथा भिआईपी तथा सामान्य पासहरु, उद्घाटन र समापन समारोहमा निम्ता, सञ्चारमाध्यका विज्ञापनमा लोगो तथा गेट तथा अन्य प्रवद्र्धनका सामग्रीमा लोगो प्रदर्शनी जस्ता सुविधा पाउने छन् ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको हो । यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्रियाको एक प्लाटफर्म सिर्जना गर्ने छ । ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु बीच नेटवर्क सिर्जना गर्ने लक्ष्य लिएका क्यानले जनाएको छ ।

सूचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता समेत क्यानले जनाएको छ ।

प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यो प्रदर्शनी सूचना प्रविधि सम्बन्धि चासो राख्नेहरुको लागि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका विकास तथा प्रयोग का बारेमा जानकारि लिने थलो हुने विश्वास लिइएको छ ।

क्यान इन्फोटेक २०२० ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर भएको बताएको छ ।

क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थी द्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने महासचिव नारायण थापाले बताए ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने उनले बताए ।

त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रदर्शनीमा राखिने महासचिव थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्