जहाजलाई लक्षित गर्दै ड्रोन उडाउने युवक पक्राउ



काठमाडौं : बिनास्वीकृति ड्रोन क्यामेरा उडाउने एक युवकलाई भक्तपुर प्रहरीले बुधबार पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित घ्याम्पे डाँडामा ड्रोन क्यामेरा उडाइरहेका सिराहाको धनगढी नगरपालिका–२ का स्थायी बासिन्दा २४ वर्षीय सन्देश लुइँटेललाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार लुइँटेलले घ्याम्पेडाँडा भई उडिरहेका हवाईजहाजलाई लक्षित गरी ड्रोन क्यामेरा उडाएका थिए ।

घ्याम्पे डाँडा क्षेत्र पूर्वी नेपालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आउने हवाईजहाजको रुट हो । उक्त रुट क्षेत्रमा लुइँटेलले बिनास्वीकृति ड्रोन क्यामेरा उडाएका थिए ।

उनले ड्रोन क्यामेरालाई उक्त रुट भइ आएका हवाईजहाजकै मुनि मुनि उडाएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । हवाईजहाजमाथि आक्रमण नै गर्ने गरी ड्रोन क्यामेरा उडाएको भन्दै प्रहरीले तत्काल घ्याम्पेडाँडा पुगी लुइँटेललाई क्यामेरासहित नियन्त्रणमा लिएको थियो ।

‘उनले कुन प्रयोजनको लागि ड्रोन क्यामेरा उडाएका हुन् खुलेको छैन । जुन प्रयोजन भए पनि ड्रोन उडाउन कहीँकतैबाट स्वीकृति लिएको थिएन’, उनले भने, ‘उनले ड्रोन क्यामेरा प्रयोग गरेर उक्त रुट भइ आउने हवाईजहाजलाई नै लक्षित गर्न थालेपछि हामीले तत्काल नियन्त्रणमा लिएका हौँ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्