लिक बन्यो, रेल छैन, रेल किन्ने नाममा समयसीमा टार्‍यो



काठमाडौं: नेपालीको रेल सपना तत्काल पूरा नहुने भएको छ । सरकारले यसै डिसेम्बरभित्र जयनगर–जनकपुर रेल सञ्चालन गर्ने भने पनि तत्काल रेल नचल्ने पक्का भएको छ ।

 

नेपालसँग आफ्नै रेल तथा दक्ष जनशक्ति नभएका कारण भारतसँग रेलका डब्बा तथा जनशक्ति ल्याएर सञ्चालन गर्ने निर्णय भएको थियो । तर, सरकारले भने ढिलै भए पनि आफ्नै रेल किन्ने निर्णय गरेका कारण तोकिएको समयमा रेल कुदाउन नसकिएको हो ।

 

रेलै नभएपछि रेलमार्ग मात्रै उद्घाटन गर्न असहज भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको सो रेल मार्गमा अब नेपालले आफैं रेल किनेर सञ्चालन गर्नेछ ।सरकारले आफ्नै रेल किन्ने निर्णय गरेका कारण निर्धारित समयमा रेल आउन नसकेको रेल विभागले जनाएको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारले भने, ‘आफ्नै ध्वजावाहक रेल किन्ने निर्णय भएकाले ढिलाइ भएको हो ।’

 

सरकारले प्रत्यक्ष रूपमा भारतीय सरकारसँग रेल किन्ने तयारी थालेको प्रवक्ता चित्रकारले बताए । उनले भने, ‘नेपालले भारतसँग प्रत्यक्ष रूपमा रेल किन्ने सहमति गरेको छ ।’ जीटुजी(सरकार–सरकारबीच) को माध्यमबाट रेल खरिद गरी आगामी जुनसम्म सञ्चालन गर्ने विभागले जनाएको ।

 

प्रवक्ता चित्रकारले रेल खरिद प्रक्रिया सुरु भइसकेको र आगामी ६ महिनाभित्र आफ्नै रेल किनिसक्ने राजधानीलाई बताए । विभागका अनुसार तत्काल स्पेसलखालको रेल आवश्यक नभएकाले छिटो प्रक्रिया पूरा गरेर रेल ल्याउन सकिनेछ । यसअघि भने रेल खरिद प्रक्रियाका लागि कम्तीमा एक वर्ष लाग्ने बताइएको थियो ।

 

यसअघि भारतले नै यो रेलमार्गमा रेल कुदाएर उद्घाटनसम्म गरिदिने बताएको थियो । आफ्नै रेल नहुँदा जनकपुर–जयनगरमा रेल उद्घाटन अन्तिम समयमा आएर रोकिएको थियो । गत मंसिरमा विवाह पञ्चमीको अवसर पारेर जनकपुर–जयनगर ३५ किलोमिटर रेलमार्ग उद्घाटन गर्ने तयारी भए पनि रेल नै नभएका कारण सो कार्यक्रम रोकिएको थियो ।

 

रेल खरिदका लागि १ अर्ब रुपैयाँमा बजेट आश्यक पर्छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ५० करोड रुपैयाँ छुट्याएको छ । केही समयअघि रेल खरिदका लागि सरकारले थप ५० करोड रुपैयाँ दिने निर्णय गरेको छ । १ अर्ब रुपैयाँ भएपछि रेल किन्न पुग्ने भएकाले रेल खरिद प्रक्रिया अघि बढेको प्रवक्ता चित्रकारले बताए । सरकारले १० डिब्बासहितको दुई सेट रेल किन्ने प्रक्रिया अघि बढाएको हो । विभागका अनुसार भारतीय डिमो मोडलको रेल खरिद गर्न लागिएको हो । सो रेल छोटो दूरीका लागि उपयुक्त हुने भएकाले खरिदबारे प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

 

जनकपुर–जयनगर खण्डको रेलमार्ग भारतको १० अर्ब रुपैयाँ आर्थिक सहयोगमा निर्माण भइरहेको छ । यो रेलमार्गको लम्बाई ३५ किलोमिटर रहेको छ । यस खण्डमा सञ्चालन हुने रेलमा नेपालको झन्डा राखिने विभागले जनाएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्