कर्णाली झल्काउने कचहरी



जुम्ला: कर्णालीलगायत जुम्लाको पुरानो संस्कृति र रीतिरिवाज चलचित्रमा समेटिएको छ । जुम्लामा विद्यामान पुराना संस्कृति लोपोन्मुख अवस्थामा रहेका बेला यहाँको संस्कृति झल्काउने विषय चलचित्रमा समेटिएको हो ।

 

जुम्लामा अहिले पनि प्रचलनमा रहेको ‘कचहरी’ नामको चलचित्र यही २० माघमा प्रर्दशन गरिने भएको छ । चलचित्रको छायांकनपछि निर्माण कार्य सम्पन्न भएकाले जुम्लामा करिब एक सातासम्म च्यारिटी सो हुने पावर मुभिज प्रोडक्सन प्रालिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । चलचित्रको जुम्लामै छायांकन गरिएको हो ।

 

पावर मुभिज प्रोडक्सन प्रालिका अनुसार सबै स्थानीय तहमा चलचित्र प्रदर्शन तयारी भइरहेको छ । २० वर्ष पुरानो कला संस्कृतिको अवस्थालाई झल्काउनुका साथै पर्यटकीय सम्भावनाको प्रचारप्रसार हुने भएकाले जिल्लामा रहनेजति सबैलाई अनिवार्य चलचित्र हेर्न आयोजकले आग्रह गरेको छ ।

 

जिल्लामा हुने च्यारिटी प्रदर्शनपछि देशविदेशसम्म चलचित्र रिलिज गर्ने तयारी भइरहेको छ । कर्णालीको खस भाषाशैलीमा छायांकन गरिएको चलचित्रले कर्णालीमा विद्यमान छाउपढी प्रथा, जारी प्रथा र हलिया प्रथालाई कथाको मुख्य विषयवस्तु बनाएको छ ।

 

चलचित्रमा खस भाषा सम्पादन हरिबाबु चौलागाईंसहित दुई जनाले गरेका छन् । चलचित्रको मुख्य भूमिकामा कलाकार गीता कटुवाल र कर्णालीका पहिलो नायक नवदत्त न्यौपाने छन् । चलचित्रको निर्देशन शक्ति परियारले गरेका छन् भने कथा लेखन मदन नेपालीको रहेको छ ।

 

छायांकन भने सरोज शाहीले गरेका छन् । करिब दुई घण्टाको चलचित्र ४० लाख बढी लागतमा निर्माण भएको निर्देशक शक्ति परियारले बताए । मुख्य भूमिकामा रहेका कलाकार ठेके र चैतुको वृतचित्रमा प्रस्तुत पारिवारिक जीवनशैलीले समग्र कर्णालीवासीकै जीवनशैलीलाई सम्बोधन गरेको उनको भनाइ छ ।

 

चलचित्रमा अभिनय गरेका ४० कलाकार सबैले हाल कर्णालीमा लोप भइसकेका बहुमूल्य परम्परागत पहिरन र कलाकारले प्रयोग गर्ने अन्य सबै परम्परागत सामग्री छन् । पुरुषको पहिरनमा दोचा, दोफर, (जुत्तामोजा) ऊनीको सुरुवाल, ऊनीको बक्खु (दौरासुरुवाल) ऊनीको पाखा कोट, भाँउरोको गादो, ऊनीकै पुरानो नेपाली टोपीलगायतका सामग्री प्रयोग गरिएका छन् ।

 

त्यस्तै, महिलाको पहिरनमा, ठेटुवाको गाउन, टुन्डेलाको फरिया, लहरे डौठो, फर्काबादको डौठो, कालो काम्लो, कुकुर छाप डौठो, ठेटुवाको घाग्रो, झम्के बुलाकी, फुली, कल्ली, बाला, ज्याले, एक्गेडे माला, ठिमुराको माला, पातेमुन्ना, चाँदीको डरको माला, छिपो आदि परम्परागत लोप भइसकेका गहनाको प्रयोग गरिएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्