कुटपिटको विरोधमा कर्मचारी आन्दोलित, तीन दिनदेखि काम ठप्प



बेसीशहर : सहकर्मी कुटिएको विरोध गर्दै लमजुङका सरकारी कार्यालयमा कार्यरत लेखा अधिकृत तथा लेखापालहरुले कामकाज ठप्प पारेका छन् । बुधबार कार्यालयको लेखा सम्बन्धी सबै काम रोकेर लेखापालहरु कोष तथा लेखा नियन्त्रक कार्यालयमा धर्नामा बसेका हुन् ।

सोमबार सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुलीलाई सत्तारुढ नेकपाको भातृ संगठन युवा संघ सुन्दरबजार नगर कमिटीका उपाध्यक्ष नवीन श्रेष्ठलगायत युवाहरुले कुटपिट गरेका थिए ।

पीडकलाई पक्राउ गरी कारवाहीको माग गर्दै लेखापालहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बुधबार नै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई ज्ञापनपत्र बुझाउँदै आक्रमणकारी श्रेष्ठलाई पक्राउ गर्न दवाव दिए ।

पीडितलाई साथ दिँदै कर्मचारीका पेशागत संगठनहरु नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले पनि संयुक्त विज्ञप्ती प्रकाशन गरी दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

कार्यकक्षमै लेखापाल कुटिएपछि सुन्दरबजार नगरपालिकाको काम तीन दिनदेखि ठप्प छ । कर्मचारीहरु काम नगरी आन्दोलनमा उत्रिएका छन् । बुधबार बसेको नगरकार्यपालिका बैठकले कर्मचारीहरुलाई काममा फर्कन आग्रह गरे पनि कर्मचारीहरुले आक्रमणकारीलाई पक्राउ गर्न तीन दिनको अल्टिमेटम दिएका छन् ।  आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्